सडक निर्माणमा भ्रष्टाचार, भेरी नगरपालिकाका पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सातजनामाथि मुद्दा
भेरी नगरपालिकाको सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार, भेरी नगरपालिका–खलंगाले आर्थिक वर्ष २०८०/०८१ मा स्वीकृत ‘कारागार–रानागाउँ–नेटीबजार सडक निर्माण’ ठेक्का प्रक्रियामा मिलेमतो गरी गैरकानूनी लाभ लिएको पाइएको छ। उक्त सडक निर्माणका लागि दुई करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर, नगर कार्यपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ विपरीत प्रक्रिया अघि बढाएको अनुसन्धानबाट पुष्टि भएको छ।
आरोपपत्रमा उल्लेख भएअनुसार, ठेक्का नं. बिएम एनसिबि कार्य ०८१ मंसिर ३ सम्बन्धी बोलपत्र राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन नगरी केवल सार्वजनिक खरिद अनुगमन कार्यालयको पोर्टलमार्फत मात्र प्रकाशित गरिएको थियो। सो क्रममा लक्षित बोलपत्रदाता बाहेक अरूलाई सहभागी हुन नदिने गरी निर्माणस्थल अनिवार्य भ्रमणको शर्त राखिएको पाइएको छ।
यस्तै, मूल्याङ्कन समितिले ‘साइट भिजिट प्रमाणपत्र’ नपेश गरेको भन्दै छ वटा कम्पनीलाई प्राविधिक चरणमै अस्वीकृत गरेको थियो। यसरी प्रतिस्पर्धा न्यून बनाई थापा, सविन, सुदर्शन जे.भी.लाई ठेक्का दिने गरी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
अनुसन्धानबाट न्यून कबोल गर्ने बोलपत्रदाताको प्रस्तावभन्दा करिब ८१ लाख रुपैयाँ बढी रकममा ठेक्का दिइएको पाइएको छ। यस कार्यले नेपाल सरकार, प्रदेश सरकार र भेरी नगरपालिकालाई आर्थिक हानि पुगेको र सम्बन्धित व्यक्तिहरूलाई गैरकानूनी लाभ भएको निष्कर्ष आयोगले निकालेको छ।
आयोगले यो अनियमिततामा संलग्न अधिकारीहरू र निर्माण कम्पनीका प्रतिनिधिहरूलाई सार्वजनिक पद दुरुपयोगविरुद्धको कानुनअनुसार सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको छ।
प्रतिक्रिया