सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी
सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग दाबी गरी मुद्दा दर्ता भएको जानकारी दिए।
महरालाई सीआईबीले आइतबार पक्राउ गरेको थियो। उनलाई विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ। मंगलबारदेखि उनको थुनछेक बहस सुरु हुनेछ, जसपछि अदालतले धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने भन्ने आदेश जारी गर्नेछ।
यो प्रकरण १० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेट ०५८७ मार्फत काठमाडौं आएका चिनियाँ राहदानीवाहक लि हानसोङसँग जोडिएको छ। उनले ल्याएका दुईवटा सुटकेश शंकास्पद देखिएपछि भन्सार कर्मचारीले जाँच गर्दा विद्युतीय चुरोट (भेप) फेला परे। ती भेपलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो। हानसोङले आफ्नो पासपोर्ट फिर्ता लिएर पर्सिपल्टै काठमाडौं छाडेका थिए, तर भेप लामो समयसम्म भन्सारमै थन्किएको थियो।
पछि भेपमा सुन तस्करी भएको सूचना प्राप्त भएपछि भन्सार कर्मचारीले सुटुक्क भेप साटेको खुलासा भएको थियो। यो शंका लागेपछि २६ वैशाख २०८० मा भन्सार कार्यालयले सीआईबीलाई पत्राचार गरी अनुसन्धान गर्न आग्रह गरेको थियो।
सीआईबीले दुई महिना लामो अनुसन्धानपछि ९ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको थियो। अनुसन्धानका क्रममा भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा, र नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर भएको थियो।
महराको संलग्नताबारे थप अनुसन्धान अघि बढाउँदै सीआईबीले केही दिनअघि उनको बयान लिएको थियो। सोही आधारमा उनलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो।
प्रतिक्रिया