सरकारसँग नेविसंघको माग: ओली, लेखक र बालेन्द्र साहमाथि तत्काल छानबिन गर
नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि तत्काल छानबिन गर्न सरकारसँग माग गरेको छ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जेन जी आन्दोलनमा भएको मानवीय क्षति र अराजकताको जिम्मेवारी यी व्यक्तिहरूले लिनुपर्ने बताए।
अध्यक्ष शेर्पाले जेन जी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै सोही दिन तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा मागिएको स्मरण गरे। उनले भने, “हामीले भदौ २३ गते नै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ भन्दै राजीनामा मागेका थियौं। अहिले पनि हाम्रो माग यथावत् छ। उहाँहरूलाई छानबिनको दायरामा ल्याएर दोषी ठहरिए कारबाही हुनुपर्छ।”
यस्तै, शेर्पाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबार जलाउनुपर्ने भन्दै युवाहरूलाई उक्साएको र आन्दोलनको नेतृत्व गरेको आरोप लगाए। उनले साहमाथि पनि तत्काल अनुसन्धान अघि बढाउनुपर्ने माग गरे। “बालेन्द्र साहले भदौ २३ को आन्दोलनको आह्वान गर्नुभएको थियो। उहाँले सिंहदरबार जलाउनुपर्छ भन्ने मानसिकता युवाहरूमा भरेको देखिन्छ। उहाँलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ,” शेर्पाले भने।
नेविसंघले जेन जी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै असोज २८ गतेबाट देशव्यापी प्रदर्शन गर्ने चेतावनीसमेत दिएको छ। संगठनले सरकारलाई शक्तिशाली छानबिन आयोग गठन गरी दोषीमाथि कारबाही गर्न दबाब दिएको छ।
प्रतिक्रिया