नेशनल लाइफलाई हबिबको सेयर खरिद गर्न राष्ट्र बैंकको स्वीकृति
नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई स्वीकृति प्रदान गरेको छ। पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर बिक्री गरी बाहिरिने योजना बनाएको थियो। उक्त सेयर खरिदका लागि नेशनल लाइफ इन्स्योरेन्ससँग भएको सम्झौतालाई राष्ट्र बैंकले स्वीकृति दिएको हो।
राष्ट्र बैंकका अनुसार, हिमालयन बैंकबाट पेश भएका कागजातहरूको जवाफदेहीता संस्था स्वयंमा निहित रहने गरी प्रचलित ऐन, कानुन तथा एकीकृत निर्देशनको अधीनमा रही सेयर खरिद/बिक्री प्रक्रिया अगाडि बढाउन स्वीकृति दिइएको छ। यदि सेयर कुनै संस्था वा निकायबाट रोक्का रहेको भएमा, कानून बमोजिम रोक्का फुकुवा लगायतका प्रक्रियाहरू पूरा गरी कालोसूचीमा नरहेको यकीन गरेर मात्र खरिद/बिक्री गर्नुपर्ने सर्त राखिएको छ। साथै, नेशनल लाइफले उक्त सेयर बिक्री वा हस्तान्तरण गर्नुअघि खरिद गर्ने फर्म वा कम्पनीले राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने सर्त पनि समावेश गरिएको छ।
हबिब बैंकले प्रतिकित्ता न्यूनतम ११२ रुपैयाँ ८० पैसामा सेयर बिक्री गर्न आवेदन दिएको थियो। हिमालयन बैंकले बहालवाला सेयरधनीहरूलाई खरिदका लागि सूचना प्रकाशित गरेकोमा नेशनल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसामा उक्त सेयर एकमुष्ट खरिद गर्न प्रस्ताव पेश गरेको थियो। उक्त प्रस्तावलाई हबिब बैंकले स्वीकार गरेपछि गत साउन अन्तिम साता दुवै पक्षबीच सेयर खरिद/बिक्री सम्झौता भएको थियो। लगत्तै, राष्ट्र बैंकले २६ असोज २०८२ मा उक्त सम्झौतालाई स्वीकृति प्रदान गरेको हो।
हबिब बैंकले सेयर बिक्रीको निवेदन दिएपछि हिमालयन बैंकले गत जेठ ३० गते एकमुष्ट सेयर खरिद/बिक्रीका लागि संस्थापक सेयरधनीहरूलाई सूचना जारी गरेको थियो। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम बहालवाला सेयरधनीहरूलाई सेयर खरिदका लागि आह्वान गरिएको थियो। सूचनाअनुसार २ करोड ८० लाख कित्ता सेयर खरिद गर्न इच्छुक र क्षमता भएका लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनुपर्ने थियो।
उक्त आह्वानमा चार संस्थापक सेयरधनीले आवेदन दिएका थिए, तर सर्तहरू पूरा गर्नेगरी नेशनल लाइफ इन्स्योरेन्सले मात्रै बोलपत्र पेश गरेको थियो। नेशनल लाइफले न्यूनतम मूल्यभन्दा बढी अर्थात् प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसामा सेयर खरिद गर्ने प्रस्ताव राखेको थियो, जसलाई हबिब बैंकले स्वीकार गरेको हो।
हिमालयन बैंकमा हबिब बैंकको १२.९३ प्रतिशत सेयर हिस्सा रहेको छ। बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ। नेशनल लाइफले न्यूनतम मूल्यभन्दा बढीमा सेयर खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
प्रतिक्रिया