मंगलबार, २८ असोज २०८२

सिटि होटल र रिभर फल्स पावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

समयपोष्ट २०८२ असोज २६ गते ८:५५

Advertisement

आज असोज २६ गते, आइतबार सिटि होटल लिमिटेड र रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ। दुवै कम्पनीले आ-आफ्नो अनुपातमा हकप्रद शेयर निष्काशन गरेका छन्।

सिटि होटल लिमिटेडको हकप्रद शेयर

सिटि होटल लिमिटेडले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। त्यसैले साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

Advertisement

केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलका साथै प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ। हकप्रद निष्काशन र बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ। निष्काशनबाट संकलित रकम कम्पनीले ऋण भुक्तानीमा प्रयोग गर्नेछ।

रिभर फल्स पावर लिमिटेडको हकप्रद शेयर

रिभर फल्स पावर लिमिटेडले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। त्यसैले साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलका साथै प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत र ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। हकप्रद निष्काशन र बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ। निष्काशनबाट संकलित रकम कम्पनीले डाउन पिलुवा खोलामा आएको विनाशकारी बाढीलगायतका कारणले आयोजनाको लागत वृद्धि भई थपिएको बैंकको ऋण कम गर्न प्रयोग गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री