कांग्रेसले भन्यो-प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमलाई पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै कडा आपत्ति जनाएको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काले आइतबार एक विज्ञप्ति जारी गर्दै यो कदमले संविधान, नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी राज्य निर्माणको संवैधानिक भावनामाथि गम्भीर आघात पुगेको बताएका छन्।
विज्ञप्तिमा खड्काले भनेका छन्, “संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधिद्वारा निर्वाचित देशको सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको विघटन पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ। यो कार्यले संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी चरित्रको राज्य निर्माणको भावनामा कुठराघात भएको छ।”
उनले यो कदमले लोकतन्त्र र संविधानलाई कमजोर बनाउनुका साथै सर्वोच्च अदालतका पूर्ववर्ती सम्बन्धित फैसलाहरूको समेत उल्लंघन गरेको उल्लेख गरेका छन्।
यसैगरी, उपसभापति खड्काले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको वास्तविक आँकलन तत्काल शुरू गर्न र घटनाको सम्पूर्ण छानबिन गर्न सरकारलाई पुन: स्मरण गराएका छन्। उनले सरकारसँग यी घटनाहरूको निष्पक्ष छानबिनका लागि तत्काल कदम चाल्न माग गरेका छन्।
प्रतिक्रिया