कर नीतिविरुद्ध सुनचाँदी व्यवसायीहरूद्वारा चरणबद्ध आन्दोलनको घोषणा
आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला क्षेत्रमा लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को विरोधमा व्यवसायीहरूले चरणबद्ध आन्दोलन घोषणा गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कर संरचना अव्यवहारिक भएको र यसले व्यवसाय मात्र होइन, आम उपभोक्तालाई समेत प्रत्यक्ष असर गर्ने बताउँदै तुरुन्त फिर्ता लिन सरकारसँग माग गरेका छन्।
महासंघले यसअघि प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराउँदै वार्तामार्फत समाधान खोज्ने प्रयास गरेको दाबी गरे पनि सरकारबाट कुनै निर्णायक पहल नआएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको जनाएको छ।
संयुक्त आन्दोलन परिचालन समिति गठन गर्दै महासंघले असार १३ गते देशभरका सम्पूर्ण सुनचाँदी व्यवसाय बन्द गर्ने र प्रमुख जिल्ला सदरमुकामहरूमा विरोध सभा आयोजना गर्ने निर्णय लिएको छ। वाग्मती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा भने विशेष विरोध ¥याली तथा सभा आयोजना गरिने छ।
यदि सरकारले व्यवसायीहरूको मागलाई बेवास्ता गरेमा साउन १ गतेदेखि देशभरका सम्पूर्ण सुनचाँदी पसल अनिश्चितकालका लागि बन्द गरिने र थप कठोर आन्दोलनको कार्यक्रम घोषणा गरिने चेतावनी महासंघले दिएको छ।
महासंघले असार मसान्तसम्म ब्यानर टाँस्ने, कालो झण्डा र कालो पट्टी बाँध्ने, सचेतना पम्प्लेट वितरण, जनप्रतिनिधिसँग संवाद, अभिमुखीकरणजस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै, आम उपभोक्ता र सरोकारवाला संघ–संस्थाहरूलाई ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।
प्रतिक्रिया