गभर्नर विश्व पौडेलको सम्पत्ति विवरण सार्वजनिक: शेयरमा मात्रै १४ करोड लगानी
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक पद धारण गर्ने व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार उनले आफ्नो र श्रीमती प्रतिभा शर्माको नाममा रहेको सम्पत्ति खुलाएका हुन्। पौडेलको सम्पत्ति विवरणअनुसार उनको कुल सम्पत्ति १७ करोडभन्दा बढी रहेको छ, जसमध्ये शेयरमा मात्रै १४ करोड बढीको लगानी रहेको छ।
गभर्नर पौडेलले सातवटा कम्पनीमा संस्थापक सेयरधनीको रूपमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँको लगानी रहेको घोषणा गरेका छन्। ती कम्पनीहरूमा सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर, चितवन इनर्जी र ग्लोबेको प्रालि समावेश छन्।
पौडेल र उनकी श्रीमती प्रतिभा शर्माको नाममा विभिन्न बैंकहरूमा कुल २० लाखभन्दा बढी बचत रहेको छ। साथै, सानिमा बैंकमा रहेको डलर खातामा ५,५०० अमेरिकी डलर (करिब ७ लाख ३१ हजार रुपैयाँ) रहेको उनले खुलाएका छन्।
सम्पत्ति विवरणमा पौडेलले ४५ तोला सुनको स्वामित्व रहेको उल्लेख गरेका छन्। उनकी श्रीमती प्रतिभा शर्माको नाममा ललितपुर र नवलपरासीमा घरजग्गा रहेको छ। ललितपुरको जग्गाको मूल्य १ करोड ५५ लाख रुपैयाँ र नवलपरासीको जग्गाको मूल्य ६० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
पौडेलकी श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ बराबरको सुजुकी कार रहेको सम्पत्ति विवरणमा समावेश छ।
प्रतिक्रिया