पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्ने आदेश
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
आइतबार विशेष अदालतमा थुनछेक बहसपछि बस्नेतलाई धरौटीमा छोड्न आदेश दिइएको हो। नेपाल दूरसञ्चार प्राधिकरणमा टेरामक्स प्रविधि खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएका थिए।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा उनको बयान लिइएको थियो।
बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेको बेला टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो। सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनी प्रतिनिधिसभा सदस्य पदबाट निलम्बनमा परेका थिए।
प्राधिकरणमार्फत प्रविधि खरिदमा अनियमितता भएको भन्दै अख्तियारले केही समयअघि विशेष अदालतमा मुद्दा दायर गरेको हो। अदालतले बयानपछि उनलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
प्रतिक्रिया