इजरायलद्वारा इरानमाथि हमला, दुई उच्च अधिकारीको मृत्यु
इजरायली शासकलाई खामेनीको चेतावनी : पीडादायी भाग्यको लागि तयार रहनु
इजरायलले शुक्रबार बिहान इरानका आणविक प्रशोधन केन्द्रहरूमाथि हवाई आक्रमण गरेको छ। इरानी राज्य मिडियाका अनुसार, आक्रमणमा क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक उर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको छ। आक्रमणपछि राजधानी तेहरानलगायत देशभर विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो आक्रमण ‘इरानको आणविक कार्यक्रमको केन्द्रमै प्रहार’ भएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय आणविक उर्जा संस्थाले हालै इरानलाई आणविक अप्रसार सन्धिको उल्लंघन गरेको भन्दै चेतावनी दिएको थियो। तर, इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र रहेको जिकिर गर्दै आएको छ।
बीबीसीका अनुसार, तेहरानको विमानस्थल बन्द गरिएको छ भने इजरायलले आपतकाल घोषणा गरेको छ। अमेरिकाले यो आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायललाई ‘तीतो र पीडादायी भाग्य’ को चेतावनी दिएका छन्। इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएले खामेनीको विज्ञप्ति उद्धृत गर्दै भनेको छ, “यहुदी शासनले हाम्रो प्रिय देशमा अपराध गर्न आफ्नो फोहोर र रक्ताम्य हात खोल्यो र आवासीय केन्द्रहरूमा प्रहार गरेर आफ्नो दुष्ट प्रकृति पहिलेभन्दा बढी प्रकट गर्यो। यहुदी शासनले कडा सजायको भागिदार बन्नुपर्नेछ।”
खामेनीले आक्रमणमा कमान्डर र आणविक वैज्ञानिक शहीद भएको उल्लेख गर्दै सक्षम उत्तराधिकारीले तत्कालै आफ्नो कर्तव्य पूरा गर्ने बताएका छन्।
प्रतिक्रिया