बिहीबार, १५ साउन २०८२

साधारण सदस्यसमेत नरहने गरी नागरिक उन्मुक्तिले रञ्जितालाई अध्यक्षबाट हटायो

समयपोष्ट २०८२ साउन १४ गते २१:४६


नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको छ ।

पार्टीका संस्थापक नेता रेशम चौधरी पक्षधरले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएका छन्। बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाले चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

मंगलबार पार्टीको निर्वाचन एवं अनुशासन आयोगले अध्यक्ष श्रेष्ठ चौधरीलाई कारबाही गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई आधार बनाएर बुधबारको राष्ट्रिय भेलाले उनलाई हटाउने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य बलवीर चौधरीले बताए। अनुशासन समितिमा रामलाल डगौरा थारु संयोजक छन् भने पुन्नबहादुर बुढा र सुनिता चौधरी सदस्य छन्। सुनिता चौधरी भने हाल आर्थिक अनियमितताको अभियोगमा कञ्चनपुरमा थुनामा छिन्।

राष्ट्रिय भेलामा २१ केन्द्रीय सदस्यमध्ये १२ जना उपस्थित थिए। भेलामा संघ, प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई पनि बोलाइएको थियो। भेलाले अध्यक्ष श्रेष्ठ चौधरीमाथि पाँचवटा आरोप लगाएर कारबाही गरेको छ। जसमा बैठक नबोलाएको, स्पष्टीकरण नबुझाएको, कार्यवाहक अध्यक्ष तोकेको, पोखराको लिची बगान जग्गा अनियमितता प्रकरणमा मुछिएको र पार्टीको विधान मिचेको आरोप छ।

नाउपाको अन्तरिम विधान २०७८ को दफा १३ मा राष्ट्रिय भेला सम्बन्धी व्यवस्था छ। विधानको दफा १३ (क) मा केन्द्रीय कमिटीले आवश्यक ठानेमा राष्ट्रिय भेला आयोजना गर्न सक्ने उल्लेख छ भने दफा १३ (ख) मा राष्ट्रिय भेलाले विधान, केन्द्रीय कमिटी, सचिवालयका सदस्य र पदाधिकारीहरूको चयन, हेरफेर र महाधिवेशनप्रति उत्तरदायी रहने गरी विधान संशोधन गर्न सक्ने व्यवस्था छ। तर, राष्ट्रिय भेलाका प्रतिनिधिहरूको बारेमा स्पष्ट उल्लेख नभएकोले विवाद उत्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री