बिहीबार, १५ साउन २०८२

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चिलुवाल

समयपोष्ट २०८२ साउन १४ गते २१:०५


राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तीर्थराज चिलुवाल नियुक्त भएका छन्। गैरकर राजस्व चुहावटसम्बन्धी अनुसन्धान, तहकिकात र अभियोजन गर्ने यस विभागमा एक महिनादेखि रिक्त रहेको महानिर्देशक पदमा बुधबार चिलुवाललाई नियुक्त गरिएको हो।

नवनियुक्त महानिर्देशक चिलुवालले यसअघि आन्तरिक राजस्व विभागमा उपमहानिर्देशकको जिम्मेवारी सम्हालेका थिए। उनले वाणिज्य विभागको महानिर्देशक, राजस्व अनुसन्धान विभागको निर्देशक, इटहरी अख्तियार प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न महत्वपूर्ण पदमा रहेर कार्यसम्पादन गरिसकेका छन्। विशेषगरी वाणिज्य विभागको महानिर्देशक रहँदा उनले ‘फाइभ स्टार’ होटलहरूलाई जरिवाना गराएर चर्चामा आएका थिए।

महानिर्देशक चिलुवालले राजस्व समूहमा १७ वर्ष बिताएको अनुभवलाई विभागको कार्यसम्पादनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राजस्व चुहावट रोक्न सबैको सहयोग आवश्यक रहेको बताउँदै भने, “आफ्नो क्षमताले भ्याएसम्म गलत हुन दिँदिनँ।”

यसअघि तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरे गत १५ असारमा निवृत्त भएपछि उक्त पद रिक्त थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री