यो साता बजार पूँजीकरणमा ४ प्रतिशत वृद्धि, यी हुन् लोकप्रिय स्टक
यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.९० प्रतिशत अर्थात् ११२.०१ अंकले उकालो लागेर २९८२.६४ विन्दुमा बन्द भएको छ। गत साता २८७०.६३ विन्दुमा बन्द भएको बजारले पाँचै कारोबार दिन सकारात्मक प्रदर्शन गरेको छ।
यो साता बजारमा कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। गत साता दैनिक औसत ११ अर्ब ९३ करोडको सेयर कारोबार भएकोमा यो साता दैनिक औसत १९ अर्ब १९ करोडको सेयर किनबेच भएको छ, जुन ६०.८८ प्रतिशतले बढी हो। साथै, दैनिक औसत सेयर संख्या ३२.५८ प्रतिशत र दैनिक औसत कारोबार संख्या ६६.१३ प्रतिशतले बढेको छ।
नेप्सेको कुल बजार पूँजीकरण यो साता ४ प्रतिशतले बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ८३ अर्ब रहेको बजार पूँजीकरण १ खर्ब ९३ अर्बले बढेर ४९ खर्ब ७७ अर्ब पुगेको छ।
यो साता नेप्सेका १३ वटै उपसमूहका परिसूचकमा वृद्धि भएको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै १०.१९ प्रतिशतले बढेको छ। त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक ६९४.९८ अंक (५.०८%) ले बढेर १४,३८८.६१ विन्दुमा पुगेको छ। गत साता यो उपसमूह १३,६९३.६३ विन्दुमा थियो।
बैंकिङ उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.३० प्रतिशत (४.६३ अंक) ले बढेर १५४७.९६ विन्दुमा पुगेको छ। गत साता यो १५४३.३३ विन्दुमा थियो।
यो साता ६ लाख १० हजार ९९५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन्, जसमा कालिका पावर कम्पनीको बोनस सेयर समावेश छ। सेयरमूल्यमा ट्रेड टावर लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ६०.९६ प्रतिशतले बढेर ४०२.७० बाट ६४८.२० पुगेको छ। उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ३४ प्रतिशतले बढेको छ। यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य भने १५.५० प्रतिशतले घटेको छ।
यो साता सान्भि इनर्जी लिमिटेड, ट्रेड टावर लिमिटेड, र सनराइज ब्लु चिप फण्ड मोस्ट पपुलर बाइ स्टकको शीर्ष स्थानमा रहे। त्यस्तै, नाडेप लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर, र विशाल बजार कम्पनी मोस्ट पपुलर सेल स्टकको शीर्ष स्थानमा रहे।
प्रतिक्रिया