बिहीबार, २२ जेठ २०८२

एक महिना मै दुई सांसद निलम्बन, प्रतिनिधिसभाका चार सांसदमाथि कारबाही

समयपोष्ट २०८२ जेठ २२ गते १६:०६

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि जेठ महिनामा प्रतिनिधिसभाका दुई सदस्य निलम्बनमा परेका छन्।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा बिहीबार अख्तियारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका छन्। यसअघि, जेठ १ गते नेपाली कांग्रेसका सांसद तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको थियो।

हाल प्रतिनिधिसभाका चार सांसद निलम्बनमा छन्। २०७९ मङ्सिर ४ को निर्वाचनबाट चुनिएका २७५ सांसदमध्ये यी चार जना निलम्बनमा परेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरणको मुद्दामा २०८१ पुस ८ देखि निलम्बनमा छन्। त्यस्तै, नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० असार १ देखि निलम्बनमा छन्।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेत सहकारीको बचत अनियमितताको आरोपमा एक वर्षदेखि फरार छिन्। नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा २०८१ वैशाख १४ मा पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेकी छिन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री