घट्यो नेप्से, बढ्यो कारोबार रकम, यी तीन स्टकमा सकारात्मक सर्किट
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। लगातार तेस्रो दिन पनि नेप्से परिसूचकमा गिरावट आएको हो। बिहीबार नेप्से परिसूचक ५.९९ अंक घटेर २६४०.९६ विन्दुमा झरेको छ। यद्यपि, परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। बुधबार ५ अर्ब १६ करोडको शेयर कारोबार भएको बजारमा बिहीबार ३११ स्टकको ७७,६७० पटकको कारोबारमा ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ७१ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, बरुण हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.५ प्रतिशतले उकालो लागेको छ। यता, ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य भने सर्वाधिक ९.३० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ९१ करोड २३ लाख ९० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। युनिभर्सल पावर कम्पनीको ६४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको साढे ४९ करोडको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक १.१३ प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०४ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।
प्रतिक्रिया