बिहीबार, २२ जेठ २०८२

पतञ्जलि जग्गा हिनामिना प्रकरण: ९३ जनाविरुद्ध मुद्दा दर्ता, माधव नेपालसँग १८ करोड ५८ लाख माग दाबी

समयपोष्ट २०८२ जेठ २२ गते १४:४७

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बिहीबार यो जानकारी दिए।

अख्तियारका अनुसार, नेपालसहितका व्यक्तिहरूमाथि पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिएको र खरिद गरेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने अनुमति दिएको आरोप लागेको छ। यो प्रकरण २०६६ सालको हो, जब भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरेको थियो। तीमध्ये ३५३ रोपनी जग्गा हाउजिङ कम्पनीलाई बेचिएको अख्तियारले जनाएको छ।

आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो मागदावी गरेको छ। साथै, सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) र (ज) बमोजिम कैद सजाय तथा दफा २४ बमोजिम थप सजायको माग गरिएको छ। अख्तियारले विगो बमोजिम जरिवाना र सो रकम असुल उपर गर्नसमेत माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री