मंगलबार, १० असार २०८२

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाको बारा खण्ड निर्माण सम्पन्न

समयपोष्ट २०८१ चैत ७ गते १३:२८


देशभित्रको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ र विश्वसनीय बनाउन तथा नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्डको निर्माण कार्य सम्पन्न भएको छ।

Advertisement

धनुषाको ढल्केबर सबस्टेसनबाट पश्चिमतर्फ महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सीमानामा अवस्थित सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। यसअघि ढल्केबरबाट पूर्वतर्फ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको इनरुवा सबस्टेसनसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन गत असारदेखि सञ्चालनमा आइसकेको छ।

यसैबीच, ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगाहपुर नजिकैको जंगलसम्मको करिब ६० किलोमिटर ४०० केभी प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा सञ्चालनमा ल्याइएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा बिहीबार यो खण्डलाई चार्ज गरिएको हो।

कार्यकारी निर्देशक घिसिङले ढल्केबरबाट पश्चिम र पश्चिमबाट ढल्केबरतर्फ विद्युत् पठाउन हालको पूर्वाधारको बाधा हटाउन यो कदम चालिएको बताए। उनले भने, “हिउँदको ऊर्जा अभाव समाधान गर्न ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनबाट दिउँसो थप विद्युत् आयात गर्न सकिन्छ। यसले कुलेखानी, माथिल्लो तामाकोशी, कालीगण्डकीजस्ता अर्धजलाशय आयोजनाको पानी जम्मा गरी साँझ र रातमा प्रयोग गर्न सकिन्छ, जसबाट विद्युत् आपूर्ति व्यवस्थापनमा सहजता आउनेछ।”

उनले थपे, “वर्षायाममा देशभित्र खपत गरी बचेको विद्युत् पश्चिमबाट ढल्केबरतर्फ ल्याएर भारत निर्यात गर्न सकिन्छ। साथै, १३२ केभी लाइनको कन्डक्टर फेरेर क्षमता बढाउने काम पनि अगाडि बढाउन सहज भएको छ।”

Advertisement

प्राधिकरणले हेटौंडादेखि ढल्केबरसम्मको १३६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेर्ने काम गरिरहेको छ। हेटौंडाबाट बाराको पिलुवा सबस्टेसनसम्मको दुवै सर्किट र ढल्केबरबाट सर्लाहीको लालबन्दीसम्मको एउटा सर्किटको तार फेर्ने काम सम्पन्न भइसकेको छ। तर, स्थानीय अवरोध र लाइन बन्द गर्नुपर्ने समस्याले लालबन्दीभन्दा अगाडिको काम रोकिएको थियो। अब ४०० केभी लाइनलाई १३२ केभीमा चार्ज गरिएकाले तार फेर्ने काम सहज हुने प्राधिकरणको भनाइ छ।

हाल १३२ केभी लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह भइरहेकोमा कन्डक्टर फेरेपछि यो क्षमता बढेर ४ सय मेगावाट पुग्नेछ। यसले विद्युत् आपूर्तिमा सुधार, पश्चिम क्षेत्रको विद्युत् पूर्वतर्फ प्रवाह र भारततर्फ निर्यातमा सहयोग पुग्नेछ।

हेटौंडा–इनरुवा २८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आइसके पनि हेटौंडा–ढल्केबर खण्डमा हेटौंडाको हटिया क्षेत्रमा स्थानीय अवरोधले १८ टावरको निर्माण बाँकी छ। यो आयोजना नेपाल सरकार, प्राधिकरण र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सुरु भएको हो। विश्व बैंकको ऋण अवधि सकिएपछि बाँकी काम सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री