मंगलबार, १० असार २०८२

छानबिन समितिबारे राप्रपाको आक्रोश: ‘दूधको साक्षी बिरालो राखेर समस्या समाधान हुँदैन’

समयपोष्ट २०८२ असार १० गते १३:१३

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिको कडा विरोध गरेको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले समितिलाई ‘अपराध ढाकछोप’को प्रोपोगान्डा भएको आरोप लगाए।

शाहीले विगत १८ वर्षमा १४ जना गृहमन्त्री भएको उल्लेख गर्दै ती सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गरे। तर, सरकारले गठन गरेको समितिले आरोपीलाई उन्मुक्ति दिने नियतले काम गर्ने उनको जिकिर छ। “दूधको साक्षी बिरालो राखेर समस्या समाधान हुँदैन,” उनले भने, “जसको विरुद्धमा छानबिन हुनुपर्ने हो, तिनैले बनाएको समितिले विधिको शासन स्थापना गर्न सक्दैन।”

सोमबारको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो। तर, शाहीले यो समितिलाई भिजिट भिसा प्रकरणमा संलग्न १४ जना गृहमन्त्रीलाई जोगाउन बनाइएको ‘प्रोपोगान्डा’ भएको दाबी गरे। उनले यो समितिको विरोधमा राप्रपा सडक र सदनमा एकजुट भएर उभिने चेतावनी दिए।

“यो मानव तस्करीको गम्भीर प्रकरण हो,” शाहीले भने, “संख्याको आधारमा यो मुद्दालाई कमजोर बनाउन हुँदैन।” उनले सरकारले गठन गरेको समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै यसको कडा विरोध गर्ने राप्रपाको अडान दोहोर्‍याए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री