मंगलबार, ६ साउन २०८२

भारत सरकारको आर्थिक सहयोगमा उदयपुरमा निर्मित विद्यालय भवनको समुद्धघाटन

समयपोष्ट २०८१ फागुन ४ गते २०:३६


भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको जनता बेलका माध्यमिक विद्यालयको नयाँ भवन आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ।

प्रतिनिधि सभाका सांसद डा. नारायण खड्का, काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तव, र बेलका नगरपालिकाका मेयर अशोक कार्कीले संयुक्त रूपमा विद्यालय भवनको उद्घाटन गर्नुभयो। कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधि, सरकारी अधिकारीहरू, विद्यालय व्यवस्थापन समिति तथा सामाजिक कार्यकर्ताहरूको उपस्थिति थियो।

भारत सरकारको ३.७९९ करोड रुपैयाँ अनुदानबाट निर्मित यो विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत कार्यान्वयन गरिएको हो। नेपाल सरकारको प्राथमिकताअनुसार भारत सरकारले प्रदान गरेको यो सहयोग उदयपुरको बेलका नगरपालिका मार्फत सम्पन्न भएको हो।

उदयपुरको बेलका नगरपालिका-पुरन्दहमा रहेको श्री जनता बेलका माध्यमिक विद्यालय सन् १९६२ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो। त्यसयता क्रमशः सन् १९७६ मा निम्न माध्यमिक, सन् २००८ मा उच्च माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भएको थियो। हाल यस विद्यालयमा करिब ५०० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ५५% छात्रा रहेका छन्।

भारतीय दूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले यो परियोजना नेपाल-भारत विकास साझेदारीको उत्कृष्ट उदाहरण भएको बताउनुभयो। उहाँले नेपाल सरकारका प्राथमिकतालाई मध्यनजर गर्दै भारत सरकार शिक्षा क्षेत्रमा सहकार्यलाई अझ विस्तार गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो।

सांसद डा. नारायण खड्कासहित स्थानीय जनप्रतिनिधिहरूले भारत सरकारद्वारा उपलब्ध गराइएका विकास परियोजनाहरूको प्रशंसा गर्दै नयाँ विद्यालय भवनले विद्यार्थीहरूको सिकाइ सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल र भारतबीच विभिन्न क्षेत्रहरूमा व्यापक विकास सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूमार्फत नेपाल सरकारका प्राथमिकताअनुसार भारत सरकारले शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री