ओलीको खण्डन: सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गरेको भन्ने दाबी असत्य
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा सिफारिस गरेको भन्ने दाबी असत्य रहेको बताएका छन्।
उनले उक्त सिफारिसपत्रमा कुनै व्यक्तिको नाम उल्लेख नभएको स्पष्ट गर्दै भ्रम फैलाउनेहरूलाई प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन्।
ओलीले आफ्नो सिफारिसपत्रको भाषा स्पष्ट रहेको उल्लेख गर्दै भने, “मेरो सिफारिसको भाषा यस्तो छ — वर्तमान असहज र असाधारण अवस्थामा संविधान र लोकतान्त्रिक परिपाटीलाई शान्तिपूर्ण अवस्थामा फर्काउन आवश्यक कदम चाल्न सम्माननीय राष्ट्रपतिलाई संविधानभित्रैबाट निर्णय लिन सिफारिस गर्दछु।” उनले थपे, “त्यसमा सुशीला कार्की वा अरू कसैको नाम उल्लेख छैन।”
उनका अनुसार, उक्त सिफारिस राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री र प्रधानसेनापति सहभागी बैठकमा संविधान र संसद्को रक्षा गर्न प्रस्तुत गरिएको थियो। “संविधान र संसद् नचलाउनुपर्ने भन्ने कुरा मैले राष्ट्रपतिको उपस्थितिमा सिफारिस गरेको थिएँ,” ओलीले प्रष्ट पारे।
ओलीले सिफारिसपत्रको प्रतिलिपि आफूसँग तत्काल नभए पनि आधिकारिक अभिलेखमा प्रमाण सुरक्षित रहेको दाबी गरे। उनले भने, “राष्ट्रपतिसँग अभिलेख छ। प्रचण्डसँग प्रमाण छ भने सार्वजनिक गरून्।” नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीकै सिफारिसमा कार्की प्रधानमन्त्री भएको दाबी गरेपछि ओलीले यस्तो चुनौती दिएका हुन्।
प्रतिक्रिया