भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) अन्तर्गत दार्चुला जिल्लाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ।
भारत सरकारको अनुदानबाट निर्माण सम्पन्न भएको यो परियोजनाको उद्घाटन नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा गर्नुभएको हो। उद्घाटन समारोहमा स्थानीय राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू तथा सामाजिक कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

भारत सरकारको “नेपाल-भारत विकास सहकार्य” अन्तर्गत नेरु. २.५३६ करोडको लागतमा सम्पन्न स्वास्थ्य चौकी भवन तथा अन्य सम्बद्ध सुविधाहरूको निर्माण दुर्गम क्षेत्रका स्थानीयहरूलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण हुनेछ। यस परियोजनाबाट करिब १५,००० भन्दा बढी स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ।

नौगाड गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाहरूले भारत सरकारको निरन्तर विकास सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसले नेपालका दुर्गम भेगका जनताको स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउने विश्वास व्यक्त गरे। स्वास्थ्य चौकी भवनले सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा समग्र स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच ऐतिहासिक रूपमा रहिआएको बहुआयामिक सम्बन्ध अझ मजबुत बनाउन उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूले सहयोग पुर्याउने विश्वास गरिएको छ। भारत सरकारले नेपाली जनताको उत्थान र पूर्वाधार विकासका लागि नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको प्रतिबिम्बित गरेको छ।




























प्रतिक्रिया