मंगलबार, ६ साउन २०८२

आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन, सातै प्रदेशमा सेवा विस्तार गर्ने योजना

समयपोष्ट २०८१ माघ १९ गते १३:३४

आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ। कालीगण्डकी कोरिडोर तथा मध्य पहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा पाहुनाहरूका लागि होटलले स्तरीय सेवा सुविधा उपलब्ध गराउनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बागलुङमा आयोजित भव्य समारोहका बीच होटलको औपचारिक उद्घाटन गर्नुभएको छ। उहाँले आइएमई ग्रुपले पर्यटन पूर्वाधारमा गरेको लगानीले नेपालको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। साथै, नेपालको आर्थिक समृद्धि पर्यटनमा निर्भर रहेको र यसको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

सो अवसरमा गण्डकी प्रदेश सरकारका मन्त्री कृष्ण पाठकले आइएमई ग्रुपले मुलुकभर पर्यटन पूर्वाधार विकासमा गरेको लगानीको प्रशंसा गर्दै गण्डकी प्रदेशमा थप लगानीका लागि आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, “यदि अन्य स्थानहरूमा केही अवरोधहरू छन् भने, गण्डकी प्रदेशमा लगानी गर्न आउनुहोस्, हामी यहाँका जनतासँग मिलेर थप पर्यटकीय पूर्वाधार निर्माण गर्न स्वागत गर्छौं।”

आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इला कम्फोर्ट होटलले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मुलुकभर होटल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरिएको र पर्यटन तथा जलविद्युत क्षेत्रमा गरिएको लगानीले अर्थतन्त्र र नागरिकको जीवनस्तर सुधार गर्ने बताउनुभयो।

होटल सञ्चालनपछि भारतको सुनौली तथा चीनसँगको कोरला नाका हुँदै नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि हुने र कालीगण्डकी कोरिडोरको पर्यटन, आर्थिक तथा सांस्कृतिक विकासमा थप योगदान पुग्ने विश्वास गरिएको छ। उद्घाटन समारोहमा संघीय सांसद दीपक गिरि, जीवन परियार, बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेललगायतले होटलले स्थानीय पर्यटन पूर्वाधारमा टेवा पुग्ने बताउँदै थप लगानीका लागि आह्वान गर्नुभयो।

करिब ३० करोड रुपैयाँको लगानीमा निर्माण भएको होटल करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ। इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइटहरू र एक विशेष पेन्टहाउससहित ३० वटा आकर्षक कोठाहरू छन्। परम्परागत आतिथ्यलाई आधुनिक ढंगले प्रस्तुत गर्दै पाहुनाहरूलाई विशेष अनुभव प्रदान गर्न होटल डिजाइन गरिएको छ।

इला होटल तथा रिसोर्टका प्रमुख सचिन ढकालले इला होटल्स एण्ड रिसोर्ट्स नयाँ आतिथ्य ब्रान्ड मात्र नभएर बागलुङ बसाइलाई अविस्मरणीय बनाउने उद्देश्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी केवल कोठाहरू मात्र प्रदान गर्दैनौँ; पाहुनाहरूलाई उनीहरूको यात्रा अविस्मरणीय बनाउने अनुभवहरू सिर्जना गर्नेछौँ।”

पोखरा विमानस्थलबाट १.५ घण्टाको दूरीमा रहेको होटल पोखरा–बागलुङबीच प्रत्येक ३० मिनेटमा सञ्चालन हुने सार्वजनिक यातायात सुविधाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रुहरूका लागि सहज पहुँचमा रहेको छ। इला कम्फोर्ट बागलुङ, इला ब्राण्डको होटल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गर्ने होटल हो। निकट भविष्यमा नवलपरासीको गैंडाकोटमा इला होटल सञ्चालनको तयारी भइरहेको छ भने नेपालका सबै सातै प्रदेशमा सेवा विस्तार गर्ने योजना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री