मंगलबार, ६ साउन २०८२

नेपाल लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई रु १० लाख सहयोग

समयपोष्ट २०८१ मंसिर १८ गते २१:०६

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई रु १० लाख रकम प्रदान गरेको छ।

एक विशेष समारोहमा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सन्जेललाई चेक हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा नेपाल लाइफका सञ्चालक अग्रवालले समता एजुकेसन फाउन्डेसनले मासिक रु १०० शुल्कमा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई नर्सरीदेखि स्नातकोत्तर तहसम्म अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा संस्थापक र व्यवस्थापन टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले समताको शिक्षा अभियान राष्ट्र निर्माणमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी, नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके देशले दक्ष जनशक्ति प्राप्त गर्ने बताउँदै, शिक्षाको विकासका लागि कम्पनीले सहयोग गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको रु १० लाख रकमले समताको अभियानलाई थप बल पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

समारोहमा समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सन्जेलले २३ वर्षदेखि शिक्षा क्षेत्रमा क्रियाशील समताले हाल देशका ७७ वटै जिल्लामा करिब ३० हजार विद्यार्थीलाई शिक्षित गराइरहेको जानकारी गराउनुभयो। उहाँले विद्यालयहरूको दीर्घकालीन सञ्चालनका लागि अक्षय कोष निर्माणमा जोड दिँदै नेपाल लाइफले प्रदान गरेको रकम कोषमा रहने र त्यसको आम्दानीबाट विद्यालय सञ्चालन गरिने बताउनुभयो।

नेपाल लाइफ इन्स्योरेन्सले यस सहयोगमार्फत सामाजिक उत्तरदायित्वलाई प्रभावकारी बनाउँदै देशको शिक्षाक्षेत्रमा योगदान पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री