बुधबार, ७ साउन २०८२

एनएलजी इन्स्योरेन्स र एलआईसीको हकप्रद निष्कासन स्वीकृत

समयपोष्ट २०८१ असोज १३ गते १३:२३

धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाललाई हकप्रद शेयर निष्कासनको स्वीकृति दिएको छ।

निर्जीवन बीमा कम्पनीको रुपमा रहेका एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले सेबोनबाट हकप्रद निष्कासनको स्वीकृति पाएका हुन् ।धितोपत्र बोर्डको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ती दुबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको हो ।

एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ८८.४५ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएका हुन् ।

एलआईसीले गत वर्ष असोज २९ गते धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको लागि निवेदन दिएको थियो। एलआईसीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर निष्कासन गर्नेछ भने यसको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हुन आउने हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। यसले १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ चुक्तापुँजीको ६२.५६ प्रतिशत अनुपातमा १०० रुपैयाँ अंकित दरका शेयर निष्कासन गर्नेछ। एनएलजीको हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड नाघ्नेछ, जुन निर्जीवन बीमा कम्पनीका लागि नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पूँजी हो। एनएलजीको हकप्रद शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री