प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँड आजै
निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक सिट बाँफडाँडको तयारी गरेको छ । आजै दलहरुले प्राप्त गर्ने सिटको बाँडफाँड हुने निर्वाचन आयुक्त नरेन्द्र दाहालले जनाएका छन् । समानुपातिकतर्फ प्रदेशमा २२० सिट रहेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलका उम्मेदवार प्रदेशसभा सदस्यमा रहने आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले ७७ वटै जिल्लाबाट दलहरूले प्राप्त गरेको मत परिणामलाई पूर्णता दिएर निर्वाचन आयोगमा पठाइसकेको छ । अब सिटबाँडफाँड गरेर आयोगले सम्बन्धित राजनीतिक दललाई नतिजा पठाउने छ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले कुल खसेको सदर मतको गणना गरी प्रत्येक दलले प्राप्त गरेको मत खुलाई आयोगमा मत परिणाम घोषणाका लागि पेस गर्ने व्यवस्था छ ।
सो पछि दलले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी नाम छनोट गरेर आयोगलाई सूचि बुझाउनु पर्नेछ । सूचि प्राप्त भएपछि आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्नेछ ।
प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी जम्मा २२० स्थानका लागि मङ्सिर १० र २१ मा समानुपातिकतर्फ मतदान भएको थियो ।
प्रतिक्रिया