सफाइ अभियानको १३९ औँं शृङ्खला पूरा
भरतपुरमा सार्वजनिक क्षेत्र सफाइ अभियानको १३९ औँं शृङ्खला पूरा भएको छ । २०७३ जेठबाट ‘हप्ताको एक दिन एकछिन समाजका लागि’ भन्ने अभियान थालेर “वे गु्रप”ले शुरु गरेको सफाइ अभियानअन्तर्गत आज बिहान चितवन महोत्सव स्थल नारायणी नदी किनारको सरसफाइ गरिएको हो ।
युवाको उल्लेख्य सहभागिता रहेको सफाइ अभियानमा चितवनका प्रदेश सांसद विजय सुवेदी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टङ्कनाथ पौडेल, भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
अभियानको १३९औँ शृङ्खला पूरा हुँदा आफ्नो ठाउँ आफैँ सफाइ गर्नुपर्छ भन्ने धारणा आम मानिसमा जागृत भएको अभियन्ताले बताएका छन् । “वे गु्रप”ले शुरु गरेको सफाइ अभियानको सिको गर्दै चितवनका अरु क्षेत्रको सफाइ पनि शुरु भएको छ ।
“वे गु्रप” जिल्लाको सरसफाइमा सहभागी हुँदै आएको संस्था हो । फोहरका कारण रोग पनि लाग्ने र सहरको सुन्दरता पनि गुम्ने भएकाले सहर सफा गर्ने उद्देश्य प्राप्तिका लागि अभियान निरन्तर चलिरहेको सरसफाइको क्षेत्रमा निरन्तर काम गरिरहेका संयोजक भोजनारायण कँडेलले बताए।
“समाजमा अभियानको प्रभाव पनि देखिन थालेको छ,संयोजक कँडेलले भने”,“फोहर रोगको घर हो र मेरा लागि पनि हो भन्ने सोचेर आफ्नो फोहर आफँै व्यवस्थापन गर्न सके जटिल समस्या आउँदैन ।” नारायणी नदीमा पहिलेको भन्दा धेरै परिवर्तन आएको र सुन्दरता पनि बढेको कँडेलले बताए ।
गु्रपले महानगर क्षेत्रमा गुट्खामुक्त अभियान पनि थालिसकेको छ । फालिएको फोहर टिप्दा मात्र सफासफाइले पूर्णता नपाउने ठहर गरेपछि सार्वजनिक सवारी साधनमा डस्टबिन अनिवार्य राख्ने अभियान थालिएको कँडेलले बताए। बरु फोहर नै गर्न नदिने निष्कर्षसहित अभियान अघि बढाइएको उनको भनाइ छ । समस्याको रूप ठूलो देखिएपछि सवारी साधनमा डस्टबिन अनिवार्य राख्ने नीति बनाउन महानगरपालिकासँग सहकार्य गरिएको उनले बताए ।
चौबिसकोठी, पुल्चोक, केन्द्रीय बस टर्मिनल र पोखरा बसपार्कका केही सवारीसाधलाई डस्टबिन दिएर साङ्केतिक रूपमा अभियान शुरु गरिएको उनले जानकारी दिए । सरकार वा कुनै दातृ निकायको प्रत्यक्ष सहयोगबिना स्वयंसेवी रुपमा नै भरतपुरमा सरसफाइ अभियान चल्दै आएको हो ।
चितवनका प्रदेशसभा सांसद विजय सुवेदीले भरतपुरको सफाइ अभियानले यसक्षेत्रका सबै प्रणालीलाई सफाइ गर्ने विश्वास व्यक्त गरे । चितवनको सभ्यतासँग जोडिएको नारायणी नदीमा प्रदूषण अत्यधिक रुपमा बढ्न थालेपछि आफैँ सरसफाइमा निस्किएको उनले बताए । क्लिन र ग्रिन सिटीको रुपमा विकसित हुँदै गइरहेको भरतपुरलाई शहरीकरणको प्रारम्भिक चरणमा नै व्यवस्थित गर्न सकिने उनको भनाइ छ । शहरी क्षेत्रको फोहरमैला घरमै प्राकृतिक ट्रिटमेन्ट गरेर बाहिर पठाउनुपर्नेमा सांसद सुवेदीको जोड छ ।
पर्यटकीय गन्तव्य बन्दै गएको नारायणी किनारलाई ठोस रुपमा दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताए । सबै सरोकारवालासँग मिलेर छिट्टै नै नारायणी व्यवस्थापनको योजना ल्याउने तयारी गरेको उनले जानकरी दिए ।
भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले फोहर फाल्नका लागि नगरपालिकाले विकल्प दिएको बताउँदै विकल्पको अटेर गर्दै जथाभावी फोहर फाल्नेलाई कडा कारवाही गरिने बताए । महानगरले दिएको विकल्पको बेवास्ता गर्दै सार्वजनिक क्षेत्रमा फोहर फालेमा पाँच हजारदेखि रु एक लाखसम्म हुनेगरी कारवाही गरिने बताए ।
टोल टोलमा विद्यार्थीदेखि स्थानीयवासीसम्मको संलग्नतामा अनुगमन टोली बनाइ, फोहर फाल्नेको निगरानी बढाएको बताउँदै उहाँले भरतपुरको विकास र समृद्धिमा सबैलाई एकजुट भएर लाग्न आग्रह गरे ।रासस
प्रतिक्रिया