‘हिन्दू धर्ममा दलितलाई समान व्यवहार गर्न नसकेका कारण क्रिश्चियन बढदै गए’
बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा वक्ताले नेपालमा रहेका चार जात ३६ वर्णका मानिसलाई समान तथा बराबरी व्यवहार हुन नसक्दा राजसंस्थाको अन्त्य तथा हिन्दू धर्ममाथि सङ्कट आएको बताएका छन् ।
पृथ्वीनारायण शाह आफ्नो राज्य विस्तारका क्रममा क्रिश्चियनहरुप्रति सर्तक रहेको बताउँदै उनीहरुले हिन्दू धर्ममा दलितलाई समान व्यवहार गर्न नसकेका कारण देशमा दिनानुदिन क्रिश्चियन बढदै गएको विचार राखे ।
कार्यक्रममा इतिहासविद् डा सुरेन्द्र केसीले बहुसङ्ख्यकको नाममा आफ्नो धर्म लाद्नेभन्दा पनि सबै जनतालाई समान व्यवहार गर्न सकेमा मात्र नेपाल साँचिक्कै एकीकरण हुने जिकिर गरे ।
बौद्ध, मुस्लिम, मधेशी, किराँत, तामाङ आदि समूहजस्ता जनतालाई समान व्यवहार हुन नसकेको तथा विभेद् भएको कारण नै राजतन्त्र समाप्त भएको र ९० प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएर पनि यो धर्म सङ्कटमा परेको डा केसीको तर्क थियो । उनले भारतमा प्रतिवर्ष ६ हजार तथा चीनमा प्रतिवर्ष १० हजार चर्च थप्दै गएको प्रसङ्ग उल्लेख गरे ।
डा केशरबहादुर भण्डारीले सन् १९५० को नेपाल–भारत सन्धिपछि नेपालमा सुरक्षा चुनौती आएको बताए ।
वरिष्ठ पत्रकार प्रेम कैदीले पृथ्वीनारायण शाहको योगदानलाई कसैले बिर्सन नहुने बताउँदै नेपालको एकीकरण भएका कारण नै हामी नेपाली भई बाँच्न पाएका छौ भने । रासस
प्रतिक्रिया