आयोजनाको अनुगमन र मुख्यमन्त्रीसँग भिडियो संवाद गर्न ‘एक्सन रुम’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमन गर्नका लागि ‘एक्सन रुम’ बनाउने प्रक्रिया शुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको अनुगमन र प्रदेशमा मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नका लागि विशेष कक्ष (एक्सन रुम) बनाउने प्रक्रिया शुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले जानकारी दिनुभयो ।

उहाँले ‘एक्सन रुम’ निर्माण गर्नका लागि दुई वटा कम्पनीले प्रस्ताव आह्वान गरेका छन् । मङ्गलबारसम्म एक्सन रुमका लागि प्रस्ताव आह्वान गरिएको थियो । नेपालमा त्यस्ता रुम बनाउनका लागि दुई वटा मात्र कम्पनी रहेकाले ती दुवैले प्रस्ताव पेश गरेको छन् ।

Advertisement

अहिले प्रस्तावको प्राविधिक पक्षबारे अध्ययन भइरहेको प्रवक्ता कुँवरले जानकारी गराउनुभयो । कक्ष निर्माणका लागि कम्पनीको छनोट गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उक्त समितिले कक्ष निर्माणका लागि कम्पनीको प्रस्ताव हेरेर स्वीकृत गरेपछि निर्माण प्रक्रिया शुरु हुने उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार एक हप्ताभित्र ती दुईमध्ये एक कम्पनीलाई छनोट गरिसक्ने र छनोट गरिएको चार हप्ताभित्र उक्त रुम बनाइसकिने छ ।

प्रधानमन्त्री कार्यालयको दोस्रो तलामा उक्त कक्ष बनाइने तयारी रहेको छ । प्रधानमन्त्री कार्यालयको एक्सन रुमको साथै आयोजना स्थान र प्रदेश मुख्यमन्त्रीको कार्यालयमा समेत उक्त यन्त्र जडान गरिने छ ।

कक्षमा जडान गरिएका यन्त्रमार्फत प्रधानमन्त्री ओलीले सिधै राष्ट्रिय गौरवका ११ आयोजनाको अनलाइन अनुगमन गर्नुहुने छ । “एक्सन रुमबाट प्रधानमन्त्रीले सिधै आयोजनाको काम के भइरहेको छ भनेर अनुगमन गर्न सक्नु हुनेछ”, उहाँले भन्नुभयो, “आयोजनाको प्रगति हेरेर प्रधानमन्त्रीले निर्देशन दिनु हुनेछ ।”

Advertisement

यसैगरी प्रदेश सरकारसँग समन्वय गर्नका लागि प्रधानमन्त्री ओलीले उक्त एक्सन रुमबाट नै प्रदेश मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नु हुनेछ । “प्रधानमन्त्रीले प्रदेश मुख्यमन्त्रीसँग निरन्तर मुलुकको विकासका लागि संवाद गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीलाई भेट्न सधैँ प्रदेश मुख्यमन्त्री काठमाडौँ आउन नपरोस् भन्नका लागि एक्सन रुमबाटै नै सिधै प्रधानमन्त्रीले मुख्यमन्त्रीसँग भिडियो संवाद गर्नु हुनेछ ।”रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री