
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले थिति बसाउन चालिएका कुनै पनि कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस भन्ने कुरामा पर्याप्त ध्यान दिन सरकार र रास्वपालाई आग्रह गरेका छन् ।
चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
भ्रष्टाचारको अन्त्य र सुशासनको एजेण्डामा रास्वपा र आफ्नो पार्टीको धारणा समान रहेको उल्लेख गर्दै नेता पुनले उक्त विषयमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे । विगतमा आफूहरूले पनि सुशासनको एजेण्डालाई गतिलोसँग अघि बढाएको दाबी उनले गरे ।
कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरिएको उनले स्मरण गरे । सुशासनको एजेण्डामा नेकपा र रास्वपाको जत्तिको निकट सहकार्य सायद अरू दलबीच नभएको जिकिर उनले गरे ।
सुशासन, पारदर्शीता र थिति बसाउने अभियानमा रास्वपालाई आफ्नो पार्टीको पूर्ण समर्थन रहने उनले स्पष्ट पारे । भ्रष्टाचार विरोधी अभियानमा दुवै शक्ति सँगै रहेको र आगामी दिनमा पनि रहने उनले उल्लेख गरे ।
थिति बसाउने नाममा चालिने कदमहरू कानुनसम्मत हुनुपर्नेमा उनले विशेष ध्यानाकर्षण गराए । कुनै पनि बहानामा संविधानको मर्म विपरीतका कार्य हुन नहुने उनको सुझाव छ ।
रास्वपाले नयाँ पद्धतिको वकालत गरिरहेका बेला कानुनी राज्यको उपहास हुन नदिने कुरामा नेतृत्वको पर्याप्त ध्यान पुग्ने विश्वास उनले व्यक्त गरे । राष्ट्रिय राजनीतिमा देखा परेका चुनौतीहरूलाई चिर्न दुई दलबीचको सहकार्य अझै बलियो हुनुपर्नेमा उनले जोड दिए ।










प्रतिक्रिया