शुक्रबार, १४ वैशाख २०८१

फोहोरमैला दीर्घकालीन व्यवस्थापनको लागि मन्त्री पाण्डेको पहल, उपयोगी बन्दै ललितपुर उपमहानगरपालिकाको एप्स 

समयपोष्ट २०७३ पुष १२ गते १४:२९

काठमाडौँ उपत्यकाबाट निस्कने फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गरी उपत्यकालाई स्वच्छ, सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गरिएको छ । 
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडौँ उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुखलाई मंगलवार मन्त्रालयमा बोलाई आआफ्नो नगर क्षेत्रबाट निस्कने फोहोरमैलाको दीर्घकालीन रुपमा व्यवस्थापन गर्न नगरपालिकाले आफैँबाट सुरु गर्न निर्देशन दिए । काठमाडौँ महानगरपालिकाले फोहोरबाट बिजुली निकालेर ‘मोहोर’ आम्दानी गर्न थालेको उदाहरण दिँदै उनले फोहोर व्यवस्थापनको बैकल्पिक उपायलाई तत्काल आआफ्नो नगरमा सञ्चालन गर्न आग्रह गरे । 

Advertisement

घरमा कुहिने र नकुहिने गरी छुट्टयाइएको फोहोर एउटै गाडीमा हालेर लैजाने गरेको पाइएको भन्दै उनले नगरपालिका वा निजी क्षेत्रले फोहोर उठाउँदा छुट्टाछुट्टै गाडीको प्रयोग गर्नुपर्ने बताए । ‘नगरका प्रत्येक घरबाट निस्कने फोहोरलाई घरमै कुहिने र नकुहिने गरी छुट्टयाउन सहयोग गर्नुहोस्, कुहिने फोहोरलाई खाल्डो वा ‘कम्पोस्ट विन’ मा हाल्ने र नकुहिने फोहोरलाई मात्र ल्याण्डफिल साइटमा लैजाने व्यवस्था मिलाउनुहोस्’ उनले भने ।

उपत्यकाका नगरपालिकाले फोहोर मात्रै उत्सर्जन गर्ने गरेको र ती फोहोर कहाँ, कसरी व्यवस्थापन गर्ने गरिएको छ भन्ने विषय पनि सोचनीय रहेको भन्दै मन्त्री पाण्डेले २२ वटै नगरपालिकाका कार्यकारी प्रमुखलाई १५ दिनभित्र हाल उपत्यकाको फोहोरको व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटको अवलोकन गर्न निर्देशन दिए । 
यही पुस १ गतेदेखि सार्वजनिक सवारीका साधनमा फोहोर सङ्कलन गर्ने भाँडाको व्यवस्था गरिएको बताउँदै उनले यस अभियानलाई आआफ्नो नगर क्षेत्रमा प्रचारात्मक रुपमा अघि बढाउन आग्रह गरे । नेपाल प्रहरी, ट्राफिक प्रहरी र वडा नागरिक मञ्चका प्रतिनिधि सम्मिलित टोली बनाएर ठिक ठाउँमा फोहोर फाले÷नफालेको अनुगमन गर्नुपर्ने उल्लेख गर्दै उहाँले तोकिएको स्थानभन्दा बाहिर फोहोर फाल्नेलाई जरिवाना गरिने बताए ।
नगरबासीले आफू सुरक्षित घरमा बसेको महसुस गर्न पाउनुपर्ने बताउँदै उनले वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड, २०७२ कडाइका साथ लागू गराउन निर्देशन दिए । उनले मापदण्ड विपरीत निर्माण गरिएका घर तथा भवनलाई निर्माण सम्पन्नको प्रमाणपत्र दिइए यस काममा संलग्न जो कोहीलाई पनि कारबाही गरिने चेतावनी दिए । 
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अब प्रत्येक नगरपालिकाले आफ्नो नगर क्षेत्रबाट निस्केका फोहोर शुद्धीकरणका लागि नगर क्षेत्रभित्रै ‘सङ्कलन केन्द्र’ को व्यवस्था गर्नुपर्ने र सङ्कलन केन्द्रबाट २४ घन्टाभित्र फोहोर उठाएर अन्यन्त्र लैजानुपर्ने बताए । उनले घरघरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाएर व्यवस्थापन गर्न हरेक नगरपालिकालाई ‘एक हप्ता, एक वडा’ अभियानलाई प्रचारात्मक ढङ्गले अघि बढाउन आग्रह गरे । 

व्यवस्थित नगरका लागि ललिपुर उपमहानगरपालिकाको मोबाइल एप्स

bharatmani-pandeyफोहोरमैला व्यवस्थापनलगायत अन्य सेवा प्रवाहका लागि ललितपुर उपमहानगरपालिकाले प्रविधिको उच्चतम् प्रयोग गरेको छ । उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि भनेर ‘हाम्रो ललितपुर’ मोबाइल एप्ससमेत निर्माण गरेको छ । त्यस्तै फोहोरमैला बोक्ने गाडीमा जिपिएस सिस्टम जडान गरिएको छ । जसबाट फोहोर बोकेको गाडी कहाँ पुग्यो र कहाँ फोहोर फाल्यो भनी उपमहानगरपालिकाको कार्यालयबाटै अनुगमन गर्न सकिने छ । 

फोहोर उठाउन गाडी घर÷घरमा नआए वा कुनै घरमा नपुगे मोबाइल एप्सबाटै गुनासोसमेत गर्न सकिने ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले बताए । त्यस्तै नगर क्षेत्रका सडकमा कतै फोहोर देखिएमा पनि एप्सबाटै गुनासो आउने गरेको र आफूहरुले ती फोहोर उचित स्थानमा व्यवस्थापन गर्ने गरेको उनले बताए । 
एप्समा ‘इलेक्ट्रिोनिक्स बिल्डिङ पर्मिट सिस्टम’ (इबिपिएस) को पनि व्यवस्था गरिएको छ । जसबाट घरको नक्सा पासको प्रक्रिया कहाँ पुग्यो भनी मोबाइलबाटै हेर्न सकिनेछ । एप्सबाटै जन्म, मृत्यु, विवाह, बसाइँसराइँ र पारपाचुकेलगायत नगरपालिकाबाट गरिने विभिन्न घटना पनि दर्ता गराउन सकिने छ भने सामाजिक सुरक्षा भत्ता पाउनेको सूची पनि एप्सबाटै हेर्न सकिने छ । त्यस्तै नगरपालिकाले लगाउने करका विषय पनि एप्समा समावेश गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री