एनपिएलः चितवनले सुदुरपश्चिमलाई हरायो

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

Advertisement

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउदै एक सय ३१ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै सेफ जेबले ११ बलमा १८ रन जोडे भने विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले १० रन बनाए ।
चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन र अमरसिंह राउटेलाले समान दुई विकेट लिए भने रिजन ढकाल र रञ्जित कुमालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रनको योगफल तयार गरेको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ५२ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाए । त्यसैगरी रवि बोपारा १८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन बनाए भने कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोडे । विपीन रावलले १७ रन बनाए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेनले दुई विकेट लिए भने सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान एक विकेट लिए ।

Advertisement

यससँगै चितवनले आफ्नो चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग भने पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री