ग्वार्कोमा फ्लाइओभरको काम तीव्रतर, तिस प्रतिशत निर्माण

ललितपुरको ग्वार्कोमा चक्रपथको मुख्य लेन नै बन्द भएपछि यात्रुले सास्ती भोगिरहेका छन्। तर अब नागरिकको यो सास्ती चाँडै सहज हुने छ। ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम तीव्रतर रूपमा अघि बढेपछि यस्तो सम्भावना देखिएको छ।

Advertisement

मुलुककै पहिलो फ्लाइओभर निर्माण ३० प्रतिशत सम्पन्न भएको छ। फ्लाइओभरको नयाँ डिजाइन स्वीकृत भएपछि असोजयता निर्माण तीव्र बनेको छ। पुस पहिलो सातासम्ममा फ्लाइओभरको पाइल (जग राखिने) काम सम्पन्न भइसकेको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। फ्लाइओभर निर्माणका लागि दुवैतिर १२/१२ गरी २४ वटा पाइल निर्माण गरिएको छ।

इन्जिनियर राकेश महर्जनले दैनिक २१ घण्टासम्म काम भइरहेको जानकारी दिनुभयो। २०७९ माघको अन्तिम साता काम सुरु गरिएको भए पनि असारमा काम रोकिएको थियो। डिजाइनमा त्रुटि भएको र आवश्यक उपकरण उपलब्ध हुन नसकेकाले निर्माण रोकिएको थियो। इन्जिनियर महर्जनले कामदारले सिफ्ट अनुसार कहिलेकाहीँ रातभर र कहिलेकाहीँ राति १२ बजेसम्म काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिलेसम्म फ्लाइओभरको मुख्य संरचनाका रूपमा रहेको जगको काम सम्पन्न भएको छ, सहायक संरचनाको काम भइरहेको छ। जगको काम सकेर त्यसमाथिको ढलान तथा पिलर निर्माण अघि बढाइएको छ।”

त्यसै गरी फ्लाइओभरको माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) का लागि आवश्यक तयारी भइरहेको उहाँले बताउनुभयो। इन्जिनियर महर्जनका अनुसार अब पुल चढ्ने ‘र्‍याम्प वाल’ बनाउने तयारी भइरहेको छ। उहाँका अनुसार फ्लाइओभरमा सवारीसाधन चढ्नका लागि आवश्यक आरइ वाल (पर्खालको प्रकार) को ढलान सुरु भइसकेको छ। आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री