शुक्रबार, १४ वैशाख २०८१

पर्यटनमन्त्री आलेले भने-ढुक्क हुनुहोस् पोखराको रत्नमन्दिर र हिमागृह छिट्टै खुल्छ

समयपोष्ट २०७८ मंसिर १७ गते २०:५३

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखराको पर्यटन विकाससँगै रत्नमन्दिर र हिमागृह जसरी पनि खोल्न पहल गर्ने बताउनुभएको छ । पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफू पर्यटन विकास गर्नकै लागि मन्त्रीको जिम्मेवारी लिएको जनाउँदै पर्यटकीय नगरी पोखराको पर्यटनमा विशेष चासो दिने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पोखराको रत्नमन्दिरर हिमागृह खुला गर्ने विषयमा धेरै समाचार पढेँ र यहाँ आउनुअघि पनि रक्षामन्त्रीसँग यसबारेमा बुझ्न प्रयास गरेँ, के कारणले खुल्न नसकेको हो, म काठमाडौँ गएर बुझ्छु र छिट्टै खोल्न पहल गर्छु, ढुक्क हुनुहोस् म खुलाउँछु ।”

मन्त्री आलेले पर्यटन क्षेत्रका पूर्वाधार विकासका लागि संस्थागत सेटिङबाट हुने गरेको भ्रष्टाचार न्यूनीकरणका लागि आफूले विशेष पहल थालेर अगाडि बढेको बताउनुभयो । उहाँले पोखरा विमानस्थल सञ्चालनका लागि आवश्यक रिठेपानीको डाँडा कटानलगायत समस्यालाई गम्भीरूपमा लिएको र त्यसको समाधानको लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पोखरामा पर्यटन क्षेत्रको समस्याका बारेमा आफू अवगत रहेको जनाउँदै नीति बनाएर यसको समाधानको लागि पहल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले सङ्घीय पर्यटन ऐन बनेपछि प्रदेशको ऐन बनाउन सहज हुने जनाउँदै त्यो गाँठो फुकाउन सङ्घीय मन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो । उहाँले निजी क्षेत्र प्रोत्साहन गर्ने प्रदेशको नीति रहेको जनाउँदै पर्यटन विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन विकासमा राज्यले स्पष्ट नीति बनाएर अगाडि बढ्न नसक्दा यस क्षेत्रका व्यवसायी निराश भएको बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि रिठेपानीको डाँडा, ल्याण्डफिल र नहर समस्या प्रमुख रहेको भन्दै छिटोभन्दा छिटो यसको समाधान गरेर पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान गराउनुपर्ने जोड दिनुभयो ।

अध्यक्ष भट्टराईले पर्यटन मजदुरका लागि जम्मा गरिएको टिम्सको रकम मजदुरका लागि खर्च गर्नुपर्ने, विभिन्न पदमार्गमा मल्टिपल इन्ट्री, पदमार्ग संरक्षणसँगै व्यवसायीलाई पाँच प्रतिशतमा ऋण प्रवाह गर्नुपर्ने र बैंकले दुई वर्षसम्म किस्ता ब्याज भुक्तानको समय दिनुपर्नेलगायत विषयमा सुनुवाइ नभएको भन्दै मन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको थियो ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेर यहाँका प्राकृतिक सुन्दरतालाई व्यवस्थित गरेर अगाडि लानुपर्नेमा जोड दिनुभयो । पोखराको फेवाताल विश्वको १३औँ सुन्दर तालमा पर्ने तथा फेवाताल मापदण्डको विषयलाई टुङ्ग्याएर सौन्दर्य अभिवृद्धिमा ध्यान दिनु पर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री