प्रचण्डले भने ‘अव पनि झगडा भयो भने हाम्रो राजनीति गर्ने ठाउँ रहँदैन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनअघि नै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सघन प्रयास भइरहेको बताएका छन् ।

नेकपा एमाले सिन्धुली–काठमाडौँ सम्पर्क मञ्च र नेकपा माओवादी केन्द्र सिन्धुली उपत्यका संघीय जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको नवनिर्वाचित सांसदहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकताको प्रक्रियाबाट कोही कसैले पनि पछाडि हट्ने अवस्था नरहेको बताए।

Advertisement

अध्यक्ष प्रचण्डले भने, “पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन । पछाडि फर्कने पुल भत्काइसकेका छौँ । हिजो मात्र मेरो र कमरेड केपी ओलीबीच लामो र गम्भीर छलफल भयो । नयाँ सरकार गठन गर्न केही दिन लाग्ने देखिन्छ, त्यसभन्दा अघि नै पार्टी एकता टुङ्ग्याउने प्रयास गरेका छौँ, अब छिट्टै पार्टी एकता हुन्छ ।”

वाम गठबन्धनलाई जनताले अत्यधिक मतले जिताएको भन्दै अध्यक्ष दाहालले यस्तो अवस्था आफूहरुका लागि अवसर मात्र नभई चुनौतीसमेत रहेको उल्लेख गरे ।

उनले भने, “जनताले हामीबाट धेरै नै आशा राखेका छन्, अब पनि अस्थिरता, भ्रष्टाचार, झगडा भयो भने हाम्रो राजनीति गर्ने ठाउँ रहँदैन ।”

नेपाली जनतालाई शान्ति, सुशासन र समृद्धिका लागि जनताले ठूलो मौका दिएको भन्दै पूर्व प्रधानमन्त्री दाहालले समृद्धिको यात्रालाई अगाडि बढाउन कुनै पनि कन्जुस्याँई गर्न नहुनेमा जोड दिए ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका सचिव योगेश भट्टराईले नेपाली जनताले वाम गठबन्धनलाई विश्वास गरेर मत दिएकाले त्यसलाई कार्यक्रममा ढालेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए ।

नेपाली जनताको लामो समयदेखिको अपेक्षा पूरा भएको उल्लेख गर्दै उनले जनपक्षीय योजना, नीति, कार्यक्रम बनाएर जनतालाई राहत दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा सिन्धुलीबाट निर्वाचित हरिबोल गजुरेल, गणेश पहाडीलगायतका नवनिर्वाचित सांसदहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व एवं नवनिर्वाचित सांसद गजुरेलले जनताको माग र चाहनालाई सम्बोधन गर्दै सिन्धुलीको विकास र समृद्धिमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

यस्तै, अर्का निर्वाचित सांसद पहाडीले जनताले आफूहरुलाई ठूलो जिम्मेवारी दिएकाले त्यसलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री