सोमबार, १९ मंसिर २०७९

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरीको संख्या बढी

समयपोष्ट २०७९ मंसिर ३ गते १६:०३

Advertisement

जाजरकोट छेडागाड नगरपालिका–४ की एक युवती आफ्नो दुई महिनाको गर्भपतन गराउन सुर्खेतस्थित प्रदेश अस्पतालमा पुग्नुभयो । छेडागाडभित्र रहेका स्वास्थ्य संस्थामै गर्भपतनको सुविधा भए पनि उहाँलाई आफ्नै गाउँ–ठाउँमा गर्भपतन गराउँदा सामाजिक रुपमा अपमान सहनुपर्ला भन्ने डरले सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल पुग्नुभएको थियो ।

गर्भपतन गराउँदा समाजले थाहा पाउने डरले उहाँले घरपरिवारका अन्य सदस्यसँग अनुमति लिएर श्रीमान्का साथमा गर्भपतन गराउन यहाँ आएको बताउनुभयो । ‘‘म यहाँ श्रीमान्सँगै आएकी छु, गर्भपतन गराउने कुरा श्रीमान् र मलाई मात्रै थाहा छ,’’ उहाँले भन्नुभयो ।

नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता प्रदान गरे पनि सुरक्षित गर्भपतन गराउन अझै सामाजिक बन्धन कायमै रहेको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, ‘‘गाउँमै गर्भपतन ग¥यो भने समाजले थाहा पाउला भन्ने डरले यहाँ आएकी हुँ । गाउँमा गर्भपतन गराउँदा कम शुल्क लाग्थ्यो, यहाँ आउँदा खर्च धेरै लाग्यो ।’’ यहाँ आउँदा रु.२० हजार जति खर्च लाग्ने ती महिलाले बताउनुभयो । मान्यता प्राप्त स्वास्थ्य संस्थामा भने निःशुल्क गर्भपतन सेवा उपलब्ध छ ।
उहाँजस्ता थुप्रै गाउँका महिला कानुनी अज्ञानता र समाजको डरका कारण समस्यामा पर्ने गरेका छन् । कानुनी मान्यता पाएको भए पनि गाउँमै गर्भपतन गराउँदा समाजले नकारात्मक दृष्टिकोणले हेर्ने गरेको दैलेखको नौमूले गाउँपालिका–२ की एक युवतीको भनाइ छ ।

उहाँ पनि आफ्नो एक महिनाको गर्भपतन गराउन वीरेन्द्रनगरको कालागाउँमा रहेको कर्णाली प्रदेश अस्पतालमा आइपुग्नुभएको हो । ‘‘गाउँमै गर्भपतन गराउँदा अमानवीय व्यवहार सहनुपर्छ । त्यसैले श्रीमान्लाई लिएर यहाँ आएकी हुँ,’’ ती युवतीले भन्नुभयो, ‘‘गाउँमै भए सस्तो हुन्थ्यो, यहाँ आउँदा र फर्किंदा धेरै खर्च भयो ।’’ गर्भपतनपछि अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सल्लाह नपाउँदा कतिपय महिलाको स्वास्थ्य थप जोखिममा पर्ने गरेको छ । नेपालमै सुरक्षित र भरपर्दाे गर्भपतनको सुविधा हँुदाहुँदै पनि त्यसको जानकारी नपाएकै कारण ग्रामीण समुदायका महिला खर्चिलो र जोखिमपूर्ण गर्भपतन गराउन बाध्य भएका हुन् ।

Advertisement

सुरक्षित गर्भपतनका लागि नेपालका अस्पतालमा एक हजारदेखि एक हजार पाँच सयसम्म मात्र खर्च लाग्छ भन्ने कतिपयलाई जानकारी नहुँदा २५÷३० हजार रुपैयाँसम्म खर्च तिर्ने गरेका छन् । कक्षा ८ पास गरेकी ती युवतीले भन्नुभयो, ‘‘अलिअलि पढेलेखेको भए पनि मलाई त समाजको डर छ भने गाउँमा घाँस दाउरा गर्ने अनपढ महिलालाई झन् समस्या छ ।’’ उहाँका श्रीमान्लाई पनि गर्भपतन गराउने कानुनी व्यवस्थाका बारेमा राम्रो थाहा छ । आफूलाई जानकारी हुँदाहुँदै पनि छिमेकीले थाहा पाऊलान् भन्ने डरले गाउँमै गर्भपतन नगरेर यहाँ आएको उहाँका श्रीमान् बताउँछन् ।

शिक्षित र जानेबुझेका दम्पतीहरु जिल्लाकै स्वास्थ्य संस्थामा गर्भपतन गराउँदैनन् ।
जिल्लामै गर्भपतन गराउँदा सामाजिक रुपमा अपमान हुने र अरूले थाहा पाउने डरले गर्भपतन गराउन जिल्लाका स्वास्थ्य संस्था छाडेर अन्यत्रै पुग्ने गर्छन् । कर्णालीका धेरै जिल्लाबाट गर्भपतनका लागि वीरेन्द्रनगरका मान्यता प्राप्त स्वास्थ्य संस्थामा आउने गरे पनि यकिन तथ्याङ्क भने कसैसँग पनि रहेको पाइँदैन् ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकी पब्लिक हेल्थ नर्स सङ्गीता खड्काले गर्भपतनका लागि आउने ग्रामीण क्षेत्रका महिलाको सङ्ख्या दिन प्रतिदिन बढिरहेको बताउनुभयो । बढ्दो आधुनिकीकरण, वैदेशिक रोजगारी, युवा अवस्थाको प्रेम, छोराको चाहनाजस्ता कारणले गर्भपतन गराउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

बढ्दैछ गर्भपतन गराउने किशोरीको सङ्ख्या

पछिल्लो समय गर्भपतन गराउने किशोरीको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार सुरक्षित गर्भपतन गर्ने २० वर्षमुनिका किशोरीहरूको सङ्ख्या वृद्धि हुँदै गएको देखिन्छ । कम उमेरमा गर्भवती हुनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण मानिन्छ ।

जनस्वास्थ्य सेवा कार्यालयका पब्लिक हेल्थ नर्स खड्काका अनुसार बिहे गर्ने उमेर नहुँदै अर्थात् २० वर्षमुनि उमेर समूहका किशोरीहरूको ठूलो सङ्ख्या यही उमेरमा गर्भवती भएपछि गर्भपतन गराइरहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ मा गर्भपतन गर्नेमध्ये दुई सय ४० जना २० वर्षमुनिका किशोरीहरू छन् ।

त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा तीन सय २६ जना २० वर्षमुनिका किशोरीले गर्भपतन गरेका छन् । यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो । आर्थिक वर्ष २०७६÷७७ मा सुर्खेतमा दुई हजार चार सय ८३ जनाले गर्भपतन गरेका थिए । २०७७÷७८ मा दुई हजार चार सय ७३ जनाले गर्भपतन गरेका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार ६ सय १५ जनाले गर्भपतन गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्याङ्क छ । असुरक्षित गर्भपतन गर्नेको तथ्याङ्क भने भेटिँदैन । सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्थाहरूलाई मान्यता दिए पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्यासमेत घटेको देखिँदैन । खड्काले भन्नुभयो, “असुरक्षित गर्भपतन गर्नेहरुको यकिन तथ्याङ्क हामीसँग हुँदैन । निजी स्वास्थ्य संस्थामा गएर लुकिछिपी औषधी सेवन गर्ने र असुरक्षित गर्भपतन गराउनेहरु पनि छन् ।” असुरक्षित गर्भपतनको अवस्था निकै जटिलसमेत बन्दै गएको पनि उहाँले बताउनुभयो ।

जनस्वास्थ्य क्षेत्रमा कार्यरत जानकारहरूका अनुसार अहिले पनि असुरक्षित गर्भपतन गर्नेहरूको सङ्ख्या धेरै छ । समाजका डरले पनि धेरैजसो महिलाहरू असुरक्षित रूपमा गर्भपतन गरिरहेका छन् । यद्यपि सुर्खेतमा रहेका सूचीकृत स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा दिने गरिएको छ । सरकारले निःशुल्क गर्भपतन सेवा दिएका कारण र सेवाप्रदायक संस्थाहरू पनि विस्तार भएकाले सेवा लिनेहरू पनि बढेको बताइएको छ । सुरक्षित गर्भपतन लिनेको सङ्ख्या बढ्नुमा सेवाको पहुँच विस्तार मुख्य कारण भए पनि सबै स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा नहुँदा समस्या रहेको पनि नर्स खड्काले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “सेवा विस्तारसँगै असुरक्षित यौन सम्पर्कका कारण पनि उमेर नपुगी गर्भवती बन्ने र गर्भपतन गराउनेहरू बढ्दै गएको देखिन्छ । उमेर नपुगी गर्भवती हुनु शारीरिक र मानसिक हिसाबले पनि राम्रो मानिँदैन ।” किशोरावस्थामै प्रजनन् अङ्गहरूको पूर्ण विकास नहुने हुँदा गर्भधारण गर्नु निकै जोखिमपूर्ण हुने खड्का बताउनुहुन्छ । कतिपयले सरकारी स्वास्थ्य संस्थामा गोपनीयता नहुने आशङ्कामा पनि असुरक्षित गर्भपतन गराउने गरेको पाइन्छ । “सूचीकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा गोपनीयता नहुने भन्नेमा सत्यता छैन,” नर्स खड्काले भन्नुभयो, “बरु असुरक्षित गर्भपतनका कारण जटिलता आउन सक्छ, सुरक्षित गर्भपतनमै जोड दिनुपर्छ ।”

लिङ्ग पहिचान पनि चुनौतीपूर्ण

पछिल्ला वर्षमा परिवार नियोजनका साधनको उपलब्धता हुँदाहुँदै पनि बेवास्ता गर्ने तर गर्भ रहेपछि असुरक्षित पतन गर्ने प्रवृत्ति धेरै देखिएको उहाँको भनाइ छ । असुरक्षित रुपमा गर्भ बोकेका महिला तथा छोरा जन्माउने आसमा लिङ्ग पहिचान गरी असुरक्षित गर्भपतन गराउने गरेका छन् । लिङ्ग पहिचानपछि गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ । खड्काका अनुसार यही अवस्थामा गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भए छोराहरुको सङ्ख्या बढ्ने र छारीहरुको सङ्ख्या घटेर वैवाहिक सम्बन्धमा समेत असर पर्ने देखिन्छ ।

लिङ्ग पहिचान गैरकानुनी भए पनि अधिकांश विवाहित महिलाहरुले समेत छोराको आशमा धेरै पटक गर्भपतन गराउँदा पाठेघर गुम्ने खतरा पनि उत्तिकै रहने नर्स खड्काको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘छोटो अवधिमा धेरैपटक गर्भपतन गराउँदा स्वास्थ्य कमजोर बन्दै जान्छ र पाठेघर नै फाल्नुपर्ने अवस्था आउन सक्छ ।’’ कतिपयले असुरक्षित गर्भपतन गराउँदा ज्यानसमेत गुमाउनु परेको छ । कानुनतः तालिम प्राप्त व्यक्तिबाट आठ सातासम्मको र विशेष परिस्थितिमा १८ सातासम्मको गर्भपतन गराउन पाइने कानुनी व्यवस्था छ । अठार साताको गर्भपतन सेवा स्त्रीरोग विशेषज्ञको सिफारिसमा निश्चित ठूला अस्पतालमा मात्रै उपलब्ध छ ।

गर्भपतनका लागि डाक्टरलाई १२ हप्ते र नर्सलाई आठहप्ते विशेष तालिम दिएपछि मात्रै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सुरक्षित गर्भपतनका लागि अनुमति दिइन्छ । नेपाल सरकारले सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० लागू गरेपछि देशका विभिन्न मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ । गर्भपतन सेवा प्रक्रिया २०६० को दफा ५ को उपदफा ३ वमोजिम १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने व्यवस्था छ । यद्यपि, असक्त महिला तथा विभिन्न कारणले गर्दा गर्भपतन गराउनुपर्ने भएमा सम्बन्धित निकायको सिफारिसमा गर्भपतन गराउन पाउने व्यवस्था पनि गरिएको छ ।

असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्यता

सुर्खेतका नौवटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहमा अझै पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध छैन । चौकुने र सिम्ता गाउँपालिकामा सुरक्षित गर्भपतन गर्ने सूचीकृत सेवा प्रदायक संस्था नहुँदा त्यहाँका महिलाहरूलाई सेवा लिन टाढा जानुपर्ने बाध्यता छ । गर्भपतनका लागि पायक पर्ने ठाउँमा सूचीकृत सेवा प्रदायक संस्था र तालिम प्राप्त जनशक्ति नहुँदा अझै पनि असुरक्षित गर्भपतन गराउन बाध्य हुनु परेको छ । टाढा जानुपर्ने झन्झटले गर्दा धेरैजसोले नजिकको मेडिकलबाट औषधि प्रयोग गरी असुरक्षित रूपमा गर्भपतन गर्ने गरेका छन् ।

हाल सुर्खेतमा सुरक्षित गर्भपतनका लागि १९ वटा स्वास्थ्य संस्था सूचीकृत छन् । त्यसमध्ये १० वटा सरकारी र नौवटा निजी स्वास्थ्य संस्था हुन् । सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाभन्दा पनि जनशक्तिको निकै ठूलो अभाव छ । तालिम प्राप्त स्वास्थ्यकर्मीको सरुवा भइरहने हुँदा सेवालाई निरन्तरता दिन समेत कठिनाइ हुने गरेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
सुरक्षित गर्भपतनका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम)की कार्यकारी निर्देशक मधुरानी ढकालले बताउनुभयो । उहाँले पछिल्ला वर्षहरूमा असुरक्षित गर्भपतन बढिरहेकाले सचेतनासँगै सेवाको पहँुच विस्तारमा ध्यान दिइनुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले छोराको चाहनामा गर्भमा छोरी भए गर्भपतन गर्ने आपराधिक मानसिकले पनि असुरक्षित गर्भपतन बढेको भन्दै यसलाई रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘‘कानुनले अपराध ठाने पनि लुकिछिपी गर्भपतन गर्दा यसले जटिलता ल्याइरहेको छ ।’’ वामले सुर्खेतमा विगत तीन वर्षदेखि सुरक्षित गर्भपतनमा अधिकार परियोजना सञ्चालन गरिरहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री