सुर्खेतको प्रदेश अस्पतालमा २५ लाखभन्दा बढी हिनामिना, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालमा २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैङ्कको एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरमाथि सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा सोमबार मुद्दा दायर गरिएको हो।
आयोगका अनुसार, अस्पतालको सामाजिक सेवा एकाइमा कार्यरत शाहीले स्वास्थ्य बिमाका बिमितहरूको नाम दर्ता गर्ने क्रममा अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी रकम सङ्कलन गरेकी थिइन्। तर, सङ्कलित रकम बैङ्कमा जम्मा नगरी हिनामिना गरेको उजुरीपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा २०८० साउन १ गतेदेखि २०८१ जेठ मसान्तसम्म सङ्कलित कुल ३४ लाख ३ हजार ८५६ रुपैयाँमध्ये केवल ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्र अस्पतालको खातामा जम्मा भएको पाइएको छ। बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ हिनामिना भएको आयोगको ठहर छ।
अख्तियारले सुवेदी, शाही र सिंजाली मगरको मिलेमतोमा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको निष्कर्ष निकालेको छ। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सजायको मागसहित आरोपपत्र दायर गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया