मंगलबार, ४ वैशाख २०८१

काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने तयारी

समयपोष्ट २०७३ कार्तिक १८ गते ५:४२

तिहारको तेस्रो दिन ऊर्जासचिव एवं नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले फेसबुकमा स्टाटस लेखे ‘हिजो र आजको विद्युत् लोड व्यवस्थित गर्न सफल प्राधिकरणका राष्ट्र सेवकलाई बधाई ।’ यस वर्षको तिहार त्यसमा पनि मुख्य गरी लक्ष्मी पूजाको साँझ काठमाडौं उपत्यकाबासीले बत्ती गएको अनुभव नै गर्न पाएनन् ।
विगतमा छिनछिनमा बत्ती गएर उपभोक्ता हैरानीमा पर्थे । यस वर्ष त्यस्तो समस्या नै व्यहोर्नुपरेन । काठमाडौं उपत्यका वितरण केन्द्रका नो लाइटमा उपभोक्ताको गुनासो यस वर्ष शून्यप्रायः रहेको प्राधिकरणले जनाएको छ ।
कारण थियो प्राधिकरणले यस वर्ष विद्युत् आपूर्तिमा गरेको कुशल व्यवस्थापन । सबैभन्दा बढी माग हुने लक्ष्मीपूजाको साँझ प्राधिकरणले आफ्ना र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत् गृह पूर्ण क्षमतामा चलाउन लगायो । तिहारमा उद्योग कलकारखाना बन्द भएकाले पनि प्राधिकरणले विद्युत् व्यवस्थापनमा सहज भएको थियो ।
लक्ष्मीपूजाका दिन साँझमा १ हजार ४ सय ४४ मेगावाट विद्युत् माग थियो । आन्तरिक उत्पादन र भारतबाट आयात भएको गरी प्रणालीमा ९६० मेगावाट मात्रै आपूर्ति भएको थियो । त्यो हुँदा पनि काठमाडौं उपत्यकामा लोडसेडिङ नगरी आपूर्ति व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।
लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकामा विद्युत् माग करिब ३ सय १५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ । यो माग करिब २ घन्टाको मात्रै हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन आफैँ भार प्रेषण केन्द्रमा बसेर प्रणालीको अनुगमन गरेका थिए ।

Advertisement

प्राधिकरणले काठमाडौं उपत्यकालाई तिहारमा मात्रै नभएर अरूबेला पनि लोडसेडिङमुक्त बनाउने तयारी गरेको छ । लोडसेडिङमुक्त बनाउन प्रणालीको अध्ययन गर्न प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ । ‘पहिलो चरणमा राजधानीलाई लोडसेडिङमुक्त बनाउन चाहन्छौँ, यो काम गर्न गाह्रो पनि छैन,’ घिसिङले भने, ‘यसको प्राविधिक पक्ष अध्ययन गर्न समिति गठन भइसकेको छ, समितिले दिने सुझाबका आधारमा उपयुक्त निर्णय गरिनेछ ।’
समग्र मुलकलाई लोडसेडिङमुक्त गरी ऊर्जामा आत्मनिर्भर बन्ने गरी काम भइरहेको उनले बताए । आन्तरिक उत्पादनले नपुगेपछि प्राधिकरणले भारतबाट विद्युत् आयात गरिरहेको छ । अर्थात् लोडसेडिङलाई कम गर्न भारतबाट विद्युत् आयात अनिवार्य छ । एक वर्षभित्रमा सुक्खायाममा लोडसेडिङ अधारभूत रूपमा र वर्षायामको लोडसेडिङ पूरै अन्त्य गर्न भारतबाट ५ सय ८० मेगावाट आयात गर्ने सरकारी योजना छ । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री