शुक्रबार, १४ वैशाख २०८१

भीम रावलको अडान कायमै,भुसाल उपाध्यक्षको उम्मेदवार

पत्रपत्रिका २०७८ मंसिर ११ गते ७:२१

Advertisement

नेकपा एमालेको दसौं महाधिवेशन उद्घाटन समापन भएपछि सहमतिमा नेतृत्व चयनका लागि अन्तिम कसरत सुरु भएको छ। शुक्रबार राति १२ बजेपछिकाे केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गरी पधाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउन प्रस्ताव गरेपछि सहमतिको प्रयास सुरु भएको हो।

राति १२ बजे एमाले सचिव योगेश भट्टराई दिएको जानकारी अनुसार पदाधिकारीमा १९ स्थायी कमिटीमा ४५ पोलिटव्यूरो सदस्य ९९ केन्द्रीय कमिटी ३०१ बनाउन महाधिवेसनको बन्द सत्रको हलमा पेश गरिने बताए। जसअनुसार अध्यक्ष १ वरिष्ट उपाध्यक्ष ६ महासचिव १ उप महासचिव ३ सचिव ७ गरी १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य सर्वसम्मतबाट चयन गर्ने प्रयास थालिएको हो। अबेरसम्म सहमतिको प्रयास छ। पधाधिकारीमा को कहाँ रहने टुंगो लागेको छैन।

पदाधिकारीमा आकांक्षी धेरै भएपछि सहमति बन्न नसकेको नेताहरूले बताएका छन्। अध्यक्षमा दाबी गरिरहेका भीम रावलले नछाड्ने अडान लिएपछि शनिबार बिहान पनि छलफल गर्ने तयारी छ। ‘राति निकैबेर छलफल भयो। केही प्राविधिक विषय बाँकी नै छन्। अध्यक्षकै उम्मेदवार हुँ। यसमा शंका छैन’, रावलले भने। हाल उपमहासचिव रहेका घनश्याम भुसालले उद्घाटन सत्र सकिएपछि शुक्रबार साँझ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

उद्घाटन सत्रअगाडि ओलीले धेरैजसो नेतालाई राखेर सहमतिको प्रयास गरेका थिए। साँझ पनि एकचरण छलफल भएको थियो तर नेताहरूले आफ्नो अडान कायमै राखेका कारण सहमति बन्न सकेको छैन।

अध्यक्षमा सहमति जुटे पनि वरिष्ठ उपाध्यक्षदेखि अन्य पदाधिकारीमा पनि उत्तिकै समस्या रहेको छ। ‘पहिलो कुरा त ओलीलाई नै चुनौती देखियो। ओलीले अध्यक्षमा चुनाव जित्ने एक सय प्रतिशत सत्य हुँदा पनि रावलले छाड्न नसक्दा अन्य पदाधिकारीलाई पनि मनोनयन दर्ता गर्ने बाटो खुल्नेछ’, राति अबेरसम्म छलफलमा सहभागी एक नेताले भने।

उनका अनुसार रावलले आफ्नो उचित व्यवस्थापन भए अध्यक्षमा छोड्ने संकेत देखाएका छन् तर त्यसबारे केही सोचिएको छैन। ‘रावललाई उम्मेदवारी दर्ता नगर्न ठूलै दबाब छ तर उनको कहाँ कसरी व्यवस्थापन हुन्छ भन्नेबारेमा केही सोचिएको छैन, त्यसकारण उनले छाड्न मानेका छैनन्’,ती नेताको दाबी छ।

उपाध्यक्ष र महासचिवमा पनि उत्तिकै समस्या रहेको छ। उपाध्यक्षमा सोचेभन्दा फरक ढंगले घटनाक्रम विकास भइरहेको नेताहरूले बताएका छन्। त्यस्तै महासचिवमा विष्णु पौडेल,शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको सशक्त दाबी रहेको छ। बिहीबारदेखि नै अध्यक्ष ओलीले चितवनमा बसेर नेताहरूसँग परामर्श थालेका थिए।

उनले वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका ईश्वर पोखरेल र सुवास नेम्वाङसँग पनि छलफल गरेका छन्। तर दुवै नेताले वरिष्ठ उपाध्यक्ष छाड्न सकेका छैनन्। ओलीको सूचीमा नेम्वाङको नाम कतै नदेखिएपछि उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेको स्रोतले जनाएको छ। ‘उहाँलाई व्यवस्थापन गर्ने विषयमा कहीं कतै नाम छैन। त्यसकारण पनि उहाँले वरिष्ठ उपाध्यक्षमा दाबी छाड्नुभएको छैन’, स्रोतले भन्यो। विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएपछि सोही विषयमा ओली खेमामै रस्साकस्सी चलेको हो। आजको नागरिक दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री