आइतबार, २३ वैशाख २०८१

काउन्सिलद्वारा भूकम्प प्रभावित सञ्चारकर्मीलाई सहयोग

समयपोष्ट २०८१ वैशाख १३ गते १८:२६

Advertisement

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित सञ्चारकर्मीलाई आर्थिक सहयोग गरेको छ । इन्टरनेटमा सहुलियत प्रदान गर्न काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सय बढी सञ्चारकर्मी तथा सञ्चारगृहलाई रु ६ लाख सहयोग गरेको हो ।

विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमका सञ्चारकर्मी तथा सञ्चारगृह प्रभावित भएका थिए । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासेसहितको टोलीले जाजरकोट र रुकुमपश्चिममा पुगेर सञ्चारकर्मीलाई सहयोग प्रदान गरेको हो ।

अध्यक्ष बस्नेतले काउन्सिलका पदाधिकारी तथा कर्मचारीका तर्फबाट नेपाल सरकार भूकम्प प्रभावित राहत कोषमा तीन दिनको तलब योगदान गरिएको बताउनुभयो । भूकम्प प्रभावित सञ्चारकर्मीका साथमा काउन्सिल रहेको उल्लेख गर्दै उहाँले मिडिया विकास कोषबाट लाभ लिनसमेत आग्रह गर्नुभयो । दुरदराजमा बसेर गरिएको पत्रकारिताबाट समाज रुपान्तरण गर्न सहयोग पुगेको उहाँको भनाइ थियो ।

मिडिया विकास कोष सहायता वितरण कार्यक्रममा अध्यक्ष बस्नेतले काउन्सिलले छिट्टै सञ्चारगृहको सूचीकृत प्रक्रिया अनलाइनबाट गर्न लागिएको जानकारी दिनुभयो । काउन्सिलले जाजरकोट र रुकुम पश्चिमका सञ्चारगृहको अनुगमन तथा निरीक्षणसमेत गर्नुका साथै आचारसंहिता जागरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो ।रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री