नेताहरूको व्यवस्थापन चुनावबाट हुन्छः ओली

नेकपा एमालेको दसौं महाधिवेशनमा नेताहरूको व्यवस्थापन कसरी होला भन्ने बहस भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र स्थापित हुन चुनाव लडेर भोट ल्याउनुपर्ने बताएका छन्।

Advertisement

महाधिवेशनका सन्दर्भमा राजधानीमा मंगलबार आयोजित अन्तरक्रियामा पार्टीभित्र देखिएका विभिन्न पक्षको व्यवस्थापन कसरी हुन्छ भन्ने जिज्ञासामा ओलीले यस्तो बताएका हुन्।

‘महाधिवेशनमा यो पक्षको व्यवस्थापन त्यो पक्षको व्यवस्थापन भन्ने कुरा छैन,हुँदैन। हाम्रो काम नेताहरूको व्यवस्थापनमा अल्झिने होइन। जनताको समस्यामा जोड दिने हो। अहिलेको व्यवस्थापन भनेको चुनाव लडेर भोट ल्याउनुपर्छ,’ उनले भने।

यो पक्ष वा त्यो पक्षको व्यवस्थापन गर्न थाल्यो भने पार्टीभित्र फेरि समस्या सुरु हुने र कार्यकर्तासँगै जनताको चाहना पनि त्यस्तो नभएको ओलीको भनाइ थियो। एमालेमा पूर्वमाओवादी र पार्टी फुट्नुअघि माधवकुमार नेपालको गुटमा रहेका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने अनुमान र बहस चलिरहेका बेला ओलीले यस्तो बताएका हुन्।

दसौं महाधिवेशनबाट एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेका बेला उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। यस विषयमा धारणा राख्दै ओलीले आफ्नो आदर र सम्मानमा रावलको उम्मेदवारी घोषणा भएको बताए। ‘तपाईंहरूले उहाँको शब्दमा ध्यान दिनुस्। भीम रावलले मप्रति आदर, सम्मान, माया, स्नेह देखाउनुभएको छ। बढी खट्नुहुन्छ,थकान लाग्यो कि,आराम गर्ने हो कि भनेर हो। उहाँले कुनै चुनौती भन्नुभएको छैन,’ओलीले भने।

Advertisement

ओलीले रावलले आफूलाई सुझाव दिएको र स्नेहपूर्ण सुझावबाट आफू प्रभावित भएको बताए। ‘कतिपय साथी र बाहिरका मान्छेले समेत मैले अध्यक्ष नउठेर विश्राम लिए हुन्थ्यो भन्ने सुझाव दिनुभएको छ। तर रावलजीको त्यो होइन। उहाँले मप्रति अत्यन्तै स्नेहभाव देखाउनुभएको छ,’ ओलीले भने।

ओलीले एमाले लोकतान्त्रिक पार्टी भएकाले आफूले नेता–कार्यकर्तालाई कुनै प्रकारको दबाब नदिने बताए। ‘मैले अध्यक्षमा उठ्ने निर्णय गरेको छैन। उठ्ने निर्णय गरें भने मलाई चुनौती दिन पाइन्छ। मलाई कसैले चुनौती दिए त्यसलाई मैले स्वागत गर्छु,’उनले भने।

निर्विरोध हुन पाए वाह क्या एमाले अध्यक्ष भन्ने हुने र चुनौती दिँदा भएन भन्ने नहुने बताउँदै उनले लोकतन्त्रमा चुनौती स्वाभाविक भएको बताए। ‘म उठ्ने भएँ भने कसैलाई नउठे हुन्थ्यो भन्दिनँ। मैले सामान्य शब्दमा पनि त्यसोभन्दा दबाब पर्न सक्छ। दबाब दिने मेरो कुनै मनसाय हुँदैन र छैन,’ओलीले भने।

एमाले विधानले वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको औंल्याउँदै ओलीले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष या निर्विरोध हुने या बढी भोट ल्याएर जित्ने बताए। महासचिवको हकमा पनि त्यस्तै हुने उनको भनाइ थियो। पार्टीभित्र समझदारी,सहमति र एकता निकै महत्वपूर्ण भएको बताउँदै पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई अलिकति पनि बेवास्ता गर्न नमिल्ने बताए। आजको नागरिक दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री