शनिबार, ८ वैशाख २०८१

यी हुन् विप्लव माओवादीबाट अतिसंवेदनशील ७२ मतदानस्थल 

समयपोष्ट २०७४ कार्तिक १७ गते ६:०३

आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जाजरकोटका ७२ मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा राखिएको छ । 

Advertisement

सुरक्षा संवेदनशीलताका आधारमा ८५ ओटा मतदानस्थलमध्ये ७२ वटालाई अतिसंवेदनशील स्थलका रुपमा राखिएको हो । सुरक्षा चुनौतीको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको वर्र्गीकरण गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए। १३ ओटा मतदान केन्द्रलाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ । 

जिल्लामा ८५ मतदानस्थलअन्तर्गत ११६ मतदान केन्द्र तोकिएको छ । गत स्थानीय निर्वाचनमा १२ मतदानस्थललाई अति संवेदनशील, २८ संवेदनशील र ४५ मतदानस्थललाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरेको थियो । आसन्न निर्वाचनमा सुरक्षा निकायले ८५ प्रतिशत मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा किन राख्यो त रु प्रहरी प्रमुख रिमाल भन्छन्, “सुरक्षा थ्रेट र प्रहरीलाई प्राप्त विभिन्न सूचनाका आधारमा हामीले ती मतदानस्थललाई अतिसंवेदनशील स्थलका रुपमा राखेका हौँ ।” 

स्थानीय प्रशासनले जाजरकोटका खासगरी नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिष्ट पार्टीबाट सबैभन्दा बढी सुरक्षा चुनौती महसुश गरेको छ । सुरक्षा निकायले मतदानस्थललाई देशभर सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ । अतिसंवेदनशील मतदानस्थलमा सुरक्षाकर्मी पनि अन्यको तुलनामा बढी नै परिचालन गर्ने व्यवस्था गरिएको छ । 

तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिनेछ । पहिलो घेरामा म्यादी प्रहरी त्यसपछि नेपाल प्रहरी र त्यसपछि बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन गरिनेछ । नेपाली सेनाले अतिसंवेदनशील स्थलमा गस्ती व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ । 

जाजरकोट भौगोलिक रुपमा पनि निकै विकट रहेको र मतदानस्थलमा यातायात र सञ्चारको सहज पहँच पुग्न नसकेको आदि कारणले पनि धेरैजसो मतदानस्थललाई संवेदनशील मतदानस्थलका रुपमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । 

जिल्लामा यसपटक तीन स्थानमा मतदान केन्द्र थप गरिएको छ । नलगाड नगरपालिकाको दल्ली, वारेकोट गाउँपालिकाको सेपुखोला र वारेकोटकै सिलिंगेचौरमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए। 

निर्वाचनका लागि आवश्यक जनशक्तिको व्यवस्थापनको अन्तिम तयारी भइरहेको प्रमुख बुढाथोकीले बताए । तर हालसम्म जिल्लामा निर्वाचन शिक्षा सामग्री आइपुगेको छैन । निर्वाचन शिक्षा सामग्री पुग्ने बित्तिकै मतदातालाई भोट हाल्ने तरिका र अन्य निर्वाचन शिक्षाका कार्यक्रमहरु सञ्चालन गरिने बुढाथोकीले बताए । 

यसपटक जिल्लामा मंसिरमा हुने निर्वाचनका लागि ८३ हजार ९३७ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् । उक्त निर्वाचनमा प्रतिनिधि सभाका लागि पाँच दलका पाँचजना उम्मेदवार र प्रदेश सभाका दुई निर्वाचन क्षेत्रका लागि पाँच दलका नौजना उम्मेदवार मैदानमा उत्रिएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री