सभामुख-दलको बैठक : संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको ठहर
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलहरूको बैठकले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ। बैठकमा सहभागी दलहरूले संसद् जीवित राखेर जेनजीको मागसहित सबै समस्याहरूको समाधान गर्न सकिने अवस्था रहँदा ठूलो षड्यन्त्रका साथ विघटन गरिएको निष्कर्ष निकालेका छन्।
नेकपा (एमाले) का नेता महेश बर्तौलाले बैठकपछि भने, “संसद् विघटनको विषयमा सबै दलहरूको साझा मत रह्यो। यो विषयमा सर्वोच्च अदालतमा रिट परिसकेको छ। सबै दलहरूले आ-आफ्नै निर्णयका आधारमा अघि बढ्ने छन्।” उनले संसद् पुनर्स्थापना गरी संवैधानिक रूपमा जेनजीले उठाएका मागहरू सम्बोधन गर्नुपर्ने मत रहेको बताए।
नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पनि संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै पार्टीले यसबारे निर्णय गरिसकेको बताए। उनले भने, “हामी लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट पछि हट्दैनौँ। तर, यो विषयको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्छ। अदालतको फैसला जे हुन्छ, त्यसलाई सम्मान गर्छौं।” उनले सर्वोच्चले निर्वाचनको पक्षमा फैसला गरे पनि आफ्नो दल तयार रहेको उल्लेख गरे।
यस्तै, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकार संविधानसम्मत नभएको र प्रधानमन्त्रीको नियुक्ति कुनै संवैधानिक धारामा नटेकेको जिकिर गरे। उनले संसद् विघटन नभएको भए संविधान संशोधनमार्फत जेनजीका माग पूरा गर्न सकिने भए पनि विघटनका कारण त्यो सम्भव नरहेको बताए।
पाण्डेले सरकारका मन्त्रीहरू फागुन २१ मा निर्वाचन गराउनेभन्दा राजनीतिक दलहरूसँग मुठभेड गराउनेतर्फ लागेको आरोप लगाए।
प्रतिक्रिया