शुक्रबार, १४ वैशाख २०८१

६२ व्यक्तिका नाममा यसरी दर्ता भयो अर्बाैंको सरकारी जग्गा

समयपोष्ट २०७६ मंसिर १ गते ७:५३

Advertisement

मालपोत कार्यालयको रेकर्डअनुसार २०४० सालसम्म साविक बर्दिया जिल्ला सोरहा ८ ‘क’अन्तर्गत कित्ता नम्बर ४४२ मा १ सय ४३ बिघा ९ कट्ठा क्षेत्रफलमा सरकारी पर्ती जग्गा थियो ।

भूमाफियाहरू गयाप्रसाद कुर्मी, उनका छोरा सावितराम कुर्मी र मालपोत कर्मचारीको मिलेमतोमा सो जग्गा ३१ जेठ २०४० मा मालपोत कार्यालय बर्दियाको आदेशबाट कित्ता बदर गरी कित्ता नम्बर ६४० र ६४१ कायम भयो । कित्ता नम्बर ६४० अन्तर्गत ८४ बिघा १६ कट्ठा १२ धुर र कित्ता नम्बर ६४१ अन्तर्गत ५८ बिघा ११ कट्ठा ८ धुर पर्ती जग्गा कायम हुन पुग्यो ।

त्यसपछि भूमाफियाको योजनाअनुसार कित्ताकाट पछि मालपोतद्वारा माफियाकै आदेशअनुसार पर्ती जग्गाका रूपमा रहेको कित्ता नम्बर ६४१ लाई १३ असार २०५३ मा बदर गरी १०२४, १०२५ र १०२६ कित्ता कायम गरियो ।

त्यसपश्चात् १०२४ कित्ताको ३६ बिघा ६ कट्ठा १२ धुर जग्गा सावितराम कुर्मीका नाममा कायम गरियो । तत्पश्चात् कित्ता नम्बर १०२५ र १०२६ को जग्गा भने पर्ती नै रहन गएको भए पनि विभिन्न व्यक्तिका नाममा दर्ता भएको र बचेकामध्ये केही अन्य व्यक्तिले उपयोग गरिरहेका छन् ।

जब कि १३ पुस २०६४ मा नापी शाखाको फिल्डबुकमा कित्ता नम्बर ४४२ पर्ती जग्गा ऐलानी भनी निमित्त नापी अधिकृतले हस्ताक्षर गरेको समेत पाइएको छ ।

पर्ती जग्गा हत्याउने योजनाअनुसार २९ मंसिर २०५५ मा मालपोतले जमुनीका रूपमा रहेको कित्ता ६४० लाई समेत बदर गरी १०६४ देखि १०८० कायम ग¥यो । त्यसपछि सो जग्गा समेत क्रमशः विभिन्न व्यक्तिका नाममा कायम हुन पुगेको देखिन्छ ।

१४ कात्तिक २०५९ को पत्रले निमित्त नापी अधिकृतको हस्ताक्षर रहेको पत्रमा साविकको कित्ता नम्बर ३१७, ३१८ र हालको कित्ता नम्बर ४३५ र ४४२ भएको भनी २००४ को नक्सासँग भिडाएको र सो जग्गा सरकारी भएको स्पष्ट देखिन्छ ।

तत्पश्चात् ६ पुस २०६४ मा मालपोत कार्यालयका सुब्बा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धु्रवप्रसाद भण्डारीले स्थलगत सर्जमिन गरी सो जग्गा गयाप्रसाद कुर्मीका हकदारकै नाममा रहेको र अन्य कसैले दाबी नगरेको भन्दै सर्जमिन गरी मुचुल्का उठाएर कुर्मीलाई जग्गा हत्याउने योजनामा साथ दिएका थिए ।

२२ कात्तिक २०६४ मा मालपोत कार्यालयले नै योजनाबद्ध रूपमा दैनिक पत्रिकामा सूचना जारी गर्दा कित्ता ६४१ को १०२४ मा समेत कसैले दाबी नगरेको भन्दै सूचना टाँस गरेको थियो ।

सोही योजनाअनुसार २० पुस २०६४ मा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख शंकरप्रसाद भेटुवालको टिप्पणी आदेशले सो जग्गा सवितराम कुर्मीलगायत चार जनाको नाममा दर्ता गराइयो ।

यसरी कित्ताकाट हुँदै गएको सरकारी जग्गा हाल ६२ जनाको नाममा दर्ता हुन पुगेको छ । नापी कार्यालयको रेकर्डअनुसार २०६४ सालको आगलागीबाट स्रेस्ता नष्ट भएको भन्दै नयाँ कित्ता नम्बर १८ कायम गरी विभिन्न नयाँ कित्ताकाट भएको देखिन्छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री