जेन-जी आन्दोलनमा भएको क्षतिको बीमा कम्पनीहरूले गरे पौने ३ अर्ब दाबी भुक्तानी

जेन-जी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडबाट उत्पन्न भौतिक र अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूले हालसम्म पौने तीन अर्ब रुपैयाँ भुक्तानी गरेका छन् । 
नेपाल बीमा प्राधिकरणका अनुसार कुल २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँको बीमा दाबी परेकोमा २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरिएको हो ।
सम्पत्ति बीमातर्फ ६७३ वटा दाबीको १९ अर्ब १ करोड ९४ लाख रुपैयाँ दाबी परेकोमा २ अर्ब २७ करोड ११ लाख भुक्तानी भएको छ। मोटर बीमातर्फ २ हजार २७० दाबीको ३ अर्ब ४४ करोड २६ लाखमध्ये ४७ करोड ७७ लाख भुक्तानी गरिएको छ ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ दाबीको ३६ करोड ७९ लाखमध्ये ४ करोड ६२ लाख र अन्य बीमातर्फ ४० दाबीको ३८ करोड ७२ लाखमध्ये २२ लाख अग्रिमसहित भुक्तानी भएको छ । परिवहन बीमातर्फ १२ दाबीको १ करोड ६६ लाख दाबी परेको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा ३९२ दाबीको २ अर्ब ३२ करोड ४६ लाखमध्ये ३१ करोड ८४ लाख, मधेश प्रदेशमा ३६७ दाबीको ७० करोड ४ लाखमध्ये ४ करोड ७१ लाख, बागमती प्रदेशमा १ हजार ७२३ दाबीको १७ अर्ब ६१ करोड ६२ लाखमध्ये २ अर्ब १५ करोड ५९ लाख भुक्तानी भएको छ ।
गण्डकी प्रदेशमा २१६ दाबीको १ अर्ब ६९ करोड २३ लाखमध्ये १५ करोड १८ लाख, लुम्बिनी प्रदेशमा २५७ दाबीको ४७ करोड ४४ लाखमध्ये ८ करोड ७८ लाख, कर्णाली प्रदेशमा २८ दाबीको ९ करोड ९९ लाखमध्ये ९० लाख र सुदूरपश्चिम प्रदेशमा २०४ दाबीको ३२ करोड ६० लाखमध्ये २ करोड ७२ लाख भुक्तानी भएको प्राधिकरणको तथ्यांकले देखाउँछ ।
कुल १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनीमा ३ हजार १८७ दाबी परेकोमा दाबी रकम २३ अर्ब २३ करोड ३७ लाख छ। दाबी भुक्तानी सहज बनाउन नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन कम्पनीहरूलाई १ अर्ब ९९ करोड २२ लाख अग्रिम पेश्की उपलब्ध गराएको छ । पुनर्बीमा कम्पनीमा २ हजार ८६८ पुनर्बीमा दाबीको १६ अर्ब ५ करोड १३ लाख दाबी परेको छ ।
 




























 
	
प्रतिक्रिया