भारतले गर्यो २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

नेपाल विद्युत् प्राधिकरणले भारततर्फ २८३ मेगावाट विद्युत् निर्यातका लागि दिइएको अनुमति नवीकरण गरेको छ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित उक्त परिमाणको विद्युत् निर्यात स्वीकृतिलाई नवीकरण गरिदिएको हो।
प्राधिकरणले देशभित्र खपत गरी बाँकी रहेको अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। यसैगरी, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ। भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा समेत विद्युत् निर्यात जारी छ।
आईएक्स मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृति पाएका चार आयोजनाको अनुमति नवीकरण भएको छ। ती आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् निर्यातका लागि विभिन्न मितिमा सकिएको स्वीकृति गत मङ्गलबारदेखि लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण गरिएको प्राधिकरणले जनाएको छ।
द्विपक्षीय सम्झौताअनुसार हरियाणा राज्यलाई चार आयोजनाबाट उत्पादित करिब १८० मेगावाट विद्युत् बिक्री भइरहेको थियो। हरियाणालाई बिक्री गर्न दिइएको अनुमति बिहीबार सकिँदैछ। प्राधिकरणले हरेक वर्ष जुन–अक्टोबरमा हरियाणालाई विद्युत् बिक्री गर्दै आएको छ।
प्राधिकरणले हरियाणालाई बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत् आईएक्समा पनि बिक्री गर्न अनुमति मागेको थियो। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त प्रस्ताव स्वीकृति दिएको छ। अब ती चार आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारदेखि आईएक्समा निरन्तर रूपमा बिक्री गर्न सकिने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरसँग भेटवार्ता गरेका थिए। भेटमा उनले विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गरेका थिए। नेपालमा विद्युत् उत्पादनको उत्कृष्ट समय अहिले भएकाले नवीकरण प्रस्तावलाई तत्काल स्वीकृति दिन समेत उनले अनुरोध गरेका थिए।




























प्रतिक्रिया