गृहमन्त्री हटाउने निर्णय कसैको दबाबमा हुँदैन : प्रधानमन्त्रीको स्वकीय सचिवालय

प्रधानमन्त्रीको स्वकीय सचिवालयले कुनै पनि दबाब वा प्रभावमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय हुन नसक्ने स्पष्ट पारेको छ।
प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गृहमन्त्री अर्याललाई हटाउन दबाब दिइरहेको भनी सञ्चार माध्यममा आएका समाचारहरूलाई भ्रमपूर्ण भनेको छ र यसले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि व्यक्तिलाई मन्त्री बनाउने वा हटाउने विषय पूर्ण रूपमा सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रभित्र पर्छ। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन।’
जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुसार गठित वर्तमान सरकारले असामान्य परिस्थितिमा राष्ट्रको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै सचिवालयले गृहमन्त्री अर्याल आगामी निर्वाचनको वातावरण निर्माण गर्न, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायको मनोबल उच्च बनाउन अहोरात्र खटिएको बताएको छ।
यस्तो संवेदनशील अवस्थामा अफवाह नफैलाउन र नपत्याउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
 




























 
	
प्रतिक्रिया