संसद् पुनःस्थापनाको अडान छाडेर आगामी चुनावमा सहभागी हुन राजनीतिक दललाई ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव

‘जेनजी’ प्रतिनिधि एवं अगुवाहरूले समयमै निर्वाचन सम्पन्न गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बुधवार सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा समयमा चुनाव हुनुपर्ने राय राखेका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ‘जेनजी’ समूहका प्रतिनिधि खेमराज साउदले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद् पुनःस्थापनाबारे राय राखेपछि आफूहरूले त्यसको खण्डन गरेको बताउनुभयो ।
संसद् पुनःस्थापना ‘जेनजी’ प्रदर्शनको उपलब्धि विपरीत हुने भनाइ राखेको उहाँले बताउनुभयो । “समयमा चुनाव हुनुपर्ने धारणा राखेका छौँ । सरकार र जेनजी समयमा निर्वाचन सम्पन्न गराउन सकारात्मक छौँ । यसमा दलहरू पनि लाग्नपर्छ भनेर आग्रह गरिएको छ”, साउदले भन्नुभयो ।
बैठकमा अभियन्ता सागर ढकालले चुनाव निष्पक्ष, स्वतन्त्र र प्रविधिमैत्री बनाउन आफूहरूले सबै राजनीतिक दलसँग आग्रह गरेको बताउनुभयो । उहाँले समयमा सुधारिएको चुनावसँगै भ्रष्टाचार विरुद्धको कारबाहीमा समेत सरकार केन्द्रित हुनुपर्ने विषय उठेको बताउनुभयो ।
“निर्वाचनको विकल्प छैन । निर्वाचन कसरी गर्ने त्यो विषयमा छलफल भयो । सबै पक्षबाट आ–आफ्नो धारणा राख्ने काम भयो । अब सुधारिएको निर्वाचन गर्नुपर्छ । चुनाव प्रविधिमैत्री हुनुपर्छ भन्ने अनुरोध गरेका छौ,” ढकालले भन्नुभयो, “भ्रष्टाचारका धेरै फाइल खोल्न बाँकी छ । जेनजीको मुख्य माग नै भ्रष्टाचारविरुद्ध कारबाही हो ।”
यस्तै, बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ‘जेनजी’ प्रतिनिधिले संसद् पुनःस्थापना भनेर नबस्न राजनीतिक दलसँग आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार जनेजी प्रतिनिधिले सबै राजनीतिक दललाई आगामी चुनावमा सहभागी भई अघि बढ्न प्रस्ताव राखेको बताउनुभयो । बैठकमा चुनावका लागि अझै पनि वातावरण बन्न नसकेको आशङ्का केही दलबाट व्यक्त भएको पाण्डेको भनाइ थियो ।




























प्रतिक्रिया