बिहीबार, १३ कार्तिक २०८२

आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

समयपोष्ट २०८२ कार्तिक १३ गते ६:४३

Advertisement

आज ग्लोबल आइएमई बैंक, गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भोलि अर्थात् कात्तिक १४ गते बुकक्लोज गर्दैछन् भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते आइतबार बुकक्लोज गर्नेछ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीहरूको साधारण सभामा सहभागी हुन तथा घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।

गुराँस लघुवित्तले कात्तिक २३ गते आइतबार बिहान ९ बजे हिले कान्जिरोवा मकालु होटल, धनकुटामा दशौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसबाहेक प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ४ जना सञ्चालक नियुक्त गर्ने र लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्तावहरू पनि पारित हुनेछन्।

Advertisement

मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र त्यसपछिको चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने घोषणा गरेको छ। यी प्रस्ताव पारित गर्न कात्तिक २१ गते शुक्रबार दिउँसो साढे ११ बजे सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा आयोजना हुनेछ।

ग्लोबल आइएमई बैंकले कात्तिक २६ गते बुधबार बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्तावहरू पनि पारित हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री