मंगलबार, ११ कार्तिक २०८२

नेप्सेमा उच्च उछाल : तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

समयपोष्ट २०८२ कार्तिक ११ गते १५:१५


मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ।

Advertisement

परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको हो। आइतबार सामान्य अंकले बढेको बजारमा मंगलबार उच्च गति लिएको छ।

कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ। आइतबार २ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३१४ स्टकको ४७ हजार ९४ पटकको कारोबारबाट ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँबराबरको ९२ लाख ४३ हजार कित्ता शेयर किनबेच भएको छ।

तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतको सर्किट लागेको हो। राधी विद्युत कम्पनीको शेयरमूल्य ९.५ प्रतिशतभन्दा बढी उकालो लाग्दा लुम्बिनी विकास बैंकको मूल्य करिब ९.५ प्रतिशतले बढेको छ। यता, हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ६.३६ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ जसको २४ करोड ९४ लाख ६० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यूनियन हाइड्रोपावरको कारोबार रकम २३ करोड रुपैयाँभन्दा बढी भएको छ भने राधी विद्युत कम्पनीको करिब २२ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

Advertisement

१३ उपसमूहमध्ये १२ वटाको परिसूचक हरियो देखिएको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशतले बढेको छ। वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूह ३ प्रतिशतभन्दा बढी उकालो लाग्दा होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूह साढे २ प्रतिशतभन्दा बढीले मजबुत भएका छन्। व्यापार उपसमूहको परिसूचक भने करिब १ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री