जेनजी आन्दोलन : महाराजगन्जमा प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर छन्।
उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले यी व्यक्तिहरूले कुटपिट गरेर दुई प्रहरीको हत्या गरेको देखाएको छ।
यसअघि, यो हत्याकाण्डमा संलग्न ४ जना आरोपीहरूलाई काठमाडौँ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। कारागार चलान हुनेहरूमा काभ्रे, रोशी गाउँपालिकाका २८ वर्षीय युवराज क्याप्छाकी, मकवानपुर, थाहा नगरपालिका–७ का २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ), सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका–४ का ६२ वर्षीय होम प्रसाद पौडेल र उदयपुर, चौदण्डीगढी नगरपालिका–१० का २८ वर्षीय टिकाराम बिक छन्।
प्रहरी अनुसन्धानअनुसार क्याप्छाकी र थिङले जवान उत्तम थापालाई र पौडेल र बिकले असई मिलन रायलाई कुटपिट गरेर हत्या गरेको निष्कर्ष निकालिएको छ।
यसअघि पक्राउ परेका सुमित तितुङ र दीपक मगर भने भद्रकालीस्थित हिरासतमा छन्।




























प्रतिक्रिया